रामहरि खतिवडालाई  कारबाही गर्न सूर्य थापाको माग, भन्छन् -‘क्षमायोग्य छैन’


काठमाडौं ।

 सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य व्यवस्था सभापति रामहरि खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ ।

 राज्य व्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसद्मा प्रतिवेदन लैजाँदा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो । 

 नेकपा एमालेका सांसद सूर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै थापाले भनेका छन्, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुन सक्दैन।’

 उनले अगाडी भनेका छन्, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरितको कुशासन नै हाबी देखियो, सार्वभौम संसद् र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत ग–यो ? यो गम्भीर विषयक भएको छ ।’

निजामती सेवा विधेयकमा कुलिङ पिरियड नराख्ने सहमति समितिमा भए पनि संसद्मा पुगेको विधेयकमा भने कुलिङ पिरियड राखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना  भइरहेको छ  ।