संसद् बलियो हुँदा  लोकतन्त्र बलियो हुन्छ –उपसभामुख राना 


काठमाडौँ। 

 उपसभामुख इन्दिरा रानाले संसद् बलियो हुँदा लोकतन्त्र बलियो हुने धारणा राखेकी छन् । 

संसद् दिवसको अवसरमा पूर्व सांसद मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारको रुपमा रहेको  विधायिका बलियो हुँदा नै लोकतन्त्र बलियो हुने धारणा राखेकी हुन्। 

उपसभामुख रानाले  जनताबीच संसदप्रति विश्वास बढाउने काम स्वयं सांसदबाटै सुरु गर्न आग्रह पनि गरिन्। ‘संसद् नागरिकको आवाज, आकांक्षा, विचार र आवश्यकता बोकेको संस्था हो, जसले नीति, कानुन, योजना र अनुगमनमार्फत शासन व्यवस्था सुचारु राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ।’ उनले भनिन् ‘लोकतन्त्र बलियो बन्नका लागि संसदलाई बलियो र प्रभावकारी बनाउनुपर्छ।’

 संसदको  प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता रहेको चर्चा गर्दै उपसभामुख रानाले  संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा संसदलाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन गर्न आग्रह पनि गरिन्। संसद् कमजोर हुँदा जनताका आवाजहरु दबाइने भएकाले संसदीय सर्वोच्चताको पक्षमा उनको जोड थियो।  

संसद् जनप्रतिनिधिको साझा थलो भएपनि व्यवहारमा दलगत स्वार्थले संसदलाई बन्धक बनाउँदै लगेको चिन्ता व्यक्त गर्दै उपसभामुख रानाले राष्ट्रिय हितभन्दा पनि सत्ता समीकरण, पदको लोभ र पार्टीको आदेश पालना गर्ने ठाउँबाट माथि उठ्न आव्हान पनि गरिन्।