गोरखा ।
उत्तरी गोरखामा आइतबार हुने भनिएको तिब्बतसँगको बैठक स्थगित भएको छ । हरेक वर्ष नाका खुलाउने विषयमा तिब्बततर्फ हुदैँ आएको द्विदेशीय प्रतिनिधिहरूको प्रिबोर्डर बैठक यसपटक गोरखाको छेकम्पार र सामागाउँमा गर्ने तयारी थियो । तर, नेपाल सरकारको गृह मन्त्रालयबाट समयमै आदेश नआउँदा निर्धारित मिति गुज्रिएको हो ।तिब्बती अधिकारीले जिल्लाको चुमनुब्री गाउँपालिका–१ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको ङुइला नाका खुलाउने र त्यसपछि आइपर्ने सुरक्षा चुनौतीबारे छलफल गर्न दुवैतर्फ बैठकको प्रस्ताव गरेका थिए ।
जिलोङ काउन्टी पब्लिक सेक्युरिटी ब्युरो अफ चाइनाले चुमनुब्री गाउँपालिका–७ छेकम्पार प्रहरी चौकी, इलाका प्रहरी कार्यालय आरुघाटमा गत जेठ २६ गते नै बैठकबारे नेपाली प्रतिनिधिलाई जानकारी गराएको थियो । यही असार १५ गते बैठक गर्ने प्रस्ताव गरी २९ गते पत्र पठाएर विधिवत् रूपमा प्रस्ताव गरेको थियो ।
प्रहरीले सो पत्रसमेत संलग्न राखी जिल्ला प्रशासन कार्यालय गोरखामा पठायो । प्रशासन कार्यालयले पनि सोही दिन बैठकका लागि आदेश माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो । ‘यो बीचमा चुमनुब्री–७ का पूर्व वडाअध्यक्ष पासाङ फुन्जो लामाले तीन पटकसम्म फोन गरी आदेश आउन किन ढिला भएको भनेर चासो राख्नुभएको थियो’, एक अधिकारीले भने– ‘जिल्लाबाट पनि गृह मन्त्रालयमा सोधनी भइरहेको थियो । तर, आदेश गत असार १२ गतेमात्र आयो । सो पत्र तत्काल तिब्बती अधिकारीसमक्ष पुर्याउँदा उताबाट आदेश आउन अर्को १० दिन लाग्ने खबर आएको छ । बैठक कहिले हुने अनिश्चित भयो ।’
रुइला नाका रहेको सामागाउँतर्फ सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) ले बैठकको समन्वय गरिरहेको थियो ।
तिब्बती सुरक्षा निकायले सशस्त्र प्रहरीमा गत असारको ७ गते पत्राचार गरेको थियो । तर, त्यसको जवाफ गृह मन्त्रालयले गत असार १२ गतेमात्र आदेशात्मक जवाफ फर्कायो । यसले गर्दा बैठक हुन नसकेको सशस्त्र प्रहरीको भनाइ छ ।
‘हाम्रो भूमिमा दुईपक्षीय बैठक अहिलेसम्म भएको थिएन । यसपटक हुने भनेर हामी धेरै खुसी भएका थियौं’, चुमनुब्री–१ का मिङमार लामाले भन्नुभयो– ‘तर जवाफ आउनै ढिला भयो । त्यसैले मिटिङ हुन सकेन । अब कहिले मिटिङ गर्ने, कहिले नाका खुल्ने ।’ छेकम्पारमा यसअघि १० वर्षअघि द्विपक्षीय बैठक भएको थियो ।











प्रतिक्रिया