वित्तीय सुशासन कायम राख्न महालेखाको भूमिका उल्लेख्य : सभामुख
महालेखासँग नियमित समन्वय र हातेमालो गर्दै अघि बढ्छौं : लेखा समिति
लेखापरीक्षणको गुणस्तर र प्रभावकारिता अभिवृद्धिका लागि वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता आवश्यक : महालेखा परीक्षक राया
काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा आर्थिक सुुशासन र वित्तीय पारदर्शीता कायम गर्न महालेखापरीक्षक कार्यालयको भूमिका सराहनीय र प्रभावकारी रहेको बताउनुभएको छ । महालेखापरीक्षक कार्यालयको ६७औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले विभिन्न चुनौतीका बाबजुद महालेखाले देशभरका झण्डै ६ हजार कार्यालयको लेखापरीक्षण गर्दै आइरहेको र यसले वित्तीय सुशासन कायम राख्न उल्लेख्य भूमिका खेलेको बताउनुभयो ।
उहाँले महालेखालाई अझै शक्तिशाली र स्वायत्त बनाउनुपर्ने आवश्यकता ओल्याउँदै महालेखाको कामकारबाहीलाई अझै प्रभावकारी बनाउन प्रतिनिधिसभाबाट पूर्ण सहयोग र साथ रहने स्पष्ट पार्नुभयो । उहाँले लेखापरीक्षणलाई थप गुणस्तरीय बनाउन सोहीअनुसारका नवीन नीति योजना र कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाले प्रभावकारी रूपमा लेखापरीक्षण गरिरहेको र महालेखापरीक्षक कार्यालयलाई वित्तीय स्वतन्त्रता आवश्यक रहेको बताउनुभयो । उहाँले महालेखापरीक्षक कार्यालयले कार्यमूलक लेखापरीक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै सार्वजनिक लेखा समिति र महालेखा बीचको समन्वयलाई आगामी दिनमा नयाँ उचाइमा पु¥याइने प्रतिवद्धता जनाउनुभयो ।
लेखा समितिका सभापति पोखरेलले महालेखालाई सुधार गर्न र अझै सशक्त बनाउन विभिन्न सातवटा सुझाव पेस गर्नुभएको थियो । जसअन्तर्गत महालेखालाई वित्तीय रूपमा स्वतन्त्र बनाउनुपर्ने, अंकमा मात्रै सीमित नभई सार्थक परिणाम दिनुपर्ने, कार्यमूलक लेखापरीक्षणमा जोड दिनुपर्ने, महालेखालाई प्रविधियुक्त बनाउनुपर्नेलगायत रहेका छन् । उहाँले महालेखालाई अझै शक्तिशाली र स्वायत्त बनाउन पनि जोड दिनुभयो ।
कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै महालेखा परीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन तयार गर्ने नियमित कार्यबाहेक यो वर्षदेखि नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणालीमार्फत सबै संघीय तथा प्रदेश मन्त्रालयमा रायसहितको मन्त्रालयगत प्रतिवेदन जारी गरिएको र तीनैतहका सरकारको प्रारम्भिक प्रतिवेदनबाहेक ७५ हजार १९० पेजको अन्तिम प्रतिवेदन जारी भएको बताउनुभयो । उहाँले महालेखा परीक्षक कार्यालयले रणनीतिक योजना, विभिन्न सरोकारवालासँगको पृष्ठपोषण, लेखापरीक्षणको अनुभव तथा असल अन्तर्राष्ट्रिय अभ्यास अनुसार वार्षिक लेखापरीक्षण योजना, लेखापरीक्षण नीति तथा वार्षिक कार्यतालिका प्रकाशन गरी सरोकारवालासँगको छलफल तथा अन्तरक्रिया गरी लेखापरीक्षण सम्पन्न गर्ने गरिएको र यस कार्यालयले सम्पादन गरेको कार्यको सम्बन्धमा अन्य देशको सर्वोच्च लेखापरीक्षण संस्थाद्वारा समकक्षी पुनरावलोकन गर्ने गरिएको जानकारी पनि दिनुभयो ।
महालेखा परीक्षक रायाले सार्वजनिक निकायबाट भएका काम कारबाहीको बारेमा सरोकारवालालाई सुसूचित गराउन वार्षिक प्रतिवेदनका सारभूत विषयहरू समावेश गरी वार्षिक प्रतिवेदनको सारांशसमेत तयार गर्नुका साथै वार्षिक प्रतिवेदनको इन्फोग्राफिक्स, कार्यमूलक र सङ्गठित संस्थाको लेखापरीक्षणको छुट्टाछुट्टै प्रतिवेदन कार्यालयको वेबसाइटमार्फत प्रकाशित गरिएको बताउनुभयो । उहाँले गत वर्षको प्रतिवेदन अवधिसम्म २८ अर्ब २९ करोड ४० लाख सम्परीक्षण भएको र सोमध्ये लेखापरीक्षण तथा सम्परीक्षणबाट सो वर्ष १४ अर्ब ४८ करोड असुल भएको जानकारी दिँदै प्रतिवेदन अवधिपश्चात समेत सम्परीक्षण कार्यलाई निरन्तरता दिई हालसम्म ३८ अर्ब ३१ करोड ६२ लाखको सम्परीक्षण भएको जानकारी पनि दिनुभयो ।
महालेखापरीक्षक रायाले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी महालेखापरीक्षकको कार्यालयको रणनीतिक योजना २०८२\८३–२०८६\८७ स्वीकृत गरेको र उक्त रणनीतिको कार्यान्वयनबाट कर्मचारीहरूको व्यक्तिगत, प्रणालीगत तथा संस्थागत क्षमता अभिवृद्धि भई समग्र सार्वजनिक क्षेत्रको लेखापरीक्षण गुणस्तरमा अभिवृद्धि हुने विश्वास लिइएको बताउनुभयो । उहाँले महालेखा परीक्षक कार्यालयले सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको जानकारी दिनुभयोे ।
कार्यक्रममा २५ वर्षसम्म सेवा अवधि पूरा गरेका ६ जना कर्मचारीहरूलाई दीर्घसेवा सम्मान प्रदान गरिनुका साथै कार्यालयका कर्मचारीहरूमध्ये लेखापरीक्षण कार्यमा उत्कृष्ट कार्य गर्ने ७ जना र लेखापरीक्षण व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने ३ जना कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।
यसरी दीर्घजीवी लेखापरीक्षण सेवा सम्मानद्वारा सम्मानित हुनेमा सो कार्यालयका पूर्व उपमहालेखापरीक्षक रामप्रसाद श्रेष्ठ रहनुभएको थियो भने पुरस्कृत हुने कर्मचारीमा नायब महालेखापरीक्षक बालकृष्ण थापा, निर्देशकहरू दुर्गाबहादुर बस्नेत, रोशन दास, लेखापरीक्षण अधिकारीहरू दिवश शंकर अधिकारी, सत्यराज जोशी, नवीन लुइँटेल, कम्प्युटर अप्रेटर हर्कमान गर्बुजा, लेखापरीक्षण अधिकारी अनिताकुमारी थापा, दिपक आचार्य र कार्यालय सहयोगी छन्दप्रसाद अधिकारी रहनु भएको छ ।
सो अवसरमा आर्थिक वर्ष २०८०\८१ को लेखापरीक्षणमा देशभरका ७ सय ५३ वटा पालिकामध्ये शून्य बेरुजु कायम गर्न सफल एकमात्रै काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान गरिएको थियो ।

सम्पादक पण्डित पुरस्कृत
महालेखापरीक्षक कार्यालयले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितलाई पुरस्कृत गरेको छ ।
सम्पादक पण्डितले लेखापरीक्षण, वित्तीय पारदर्शीता तथा आर्थिक सुशासन विषयमा नियमित रूपमा लेख रचना तथा समाचार प्रकाशित गरी मुलुकको समग्र सुशासन र वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण योगदान दिएको भन्दै महालेखाले उहाँलाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेको हो ।
महालेखा परीक्षक तोयम रायाको अध्यक्षतामा सम्पन्न ६७ औं वार्षिकोत्सव समारोहमा कार्यक्रमका विशिष्ट अतिथि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सम्पादक पण्डितलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको हो । सम्पादक पण्डितले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लामो समयदेखि लेख रचना तथा समाचार प्रकाशित गर्दै सुशासनका लागि पैरवी गर्नुका साथै बेरुजु न्यूनीकरणमा सरकारी निकायलाई झकझकाउने तथा सार्वजनिक निकायहरूमा उत्तरदायित्व, पारदर्शीता र निष्ठा प्रवद्र्धन गराउने खालका लेख रचनाहरूसमेत प्रकाशित गर्दै आइरहनुभएको छ ।
महालेखा परीक्षक कार्यालयले आफ्नो स्थापनाको ६७औं वार्षिकोत्सव मनाइरहँदा लेखापरीक्षण, वित्तीय पारदर्शीता तथा आर्थिक सुशासनमा लेख रचना तथा समाचाहरू प्रकाशन गर्ने सञ्चारकर्मीलाई पहिलोपटक पुरस्कृत गर्ने नीति अख्तियार गरेको हो । महालेखाले आगामी दिनदेखि यो नीतिलाई निरन्तरता दिइने जनाएको छ ।











प्रतिक्रिया