महालेखा परीक्षक कार्यालयको ६७ औं  वार्षिकोत्सव भव्यताका साथ सम्पन्न: महालेखालाई अझै शक्तिशाली र स्वायत्त बनाउन जोड 

वित्तीय सुशासन कायम राख्न महालेखाको  भूमिका उल्लेख्य : सभामुख


महालेखासँग नियमित समन्वय र हातेमालो  गर्दै अघि बढ्छौ : लेखा समिति

लेखापरीक्षणको गुणस्तर र प्रभावकारिता अभिवृद्धिका लागि वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता  आवश्यक : महालेखा परीक्षक राया 

काठमाडौँ। 

सभामुख देवराज घिमिरेले मुलुकमा आर्थिक सुशासन र वित्तीय पारदर्शिता कायम गर्न महालेखापरीक्षक कार्यालयको भूमिका सह्रानीय  र प्रभावकारी रहेको बताएका छन् । घिमिरेले विभिन्न चुनौतीका बाबजुद महालेखाले देशभरका झन्डै ६ हजार कार्यालयको लेखापरीक्षण गर्दै आइरहेको र यसले वित्तीय सुशासन कायम राख्न उल्लेख्य भूमिका खेलेको बताए । 

महालेखापरीक्षक कार्यालयको ६७ औं  वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले महालेखाको कामकारवाहीलाई अझै प्रभावकारी बनाउन प्रतिनिधिसभाबाट पूर्ण सहयोग र साथ रहने स्पष्ट पारे । सभामुख घिमिरले लेखापरीक्षणलाई थप गुणस्तरीय बनाउन सोही अनुसारका नवीन नीति योजना र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

 कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाले प्रभावकारी रुपमा लेखापरीक्षण गरिरहेको र  महालेखापरीक्षक कार्यालयलाई वित्तीय स्वतन्त्रता आवश्यक रहेको बताए । उनले  महालेखापरीक्षक कार्यालयले कार्यमूलक लेखापरीक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । पोखरेलले सार्वजनिक लेखा समिति र महालेखाबीचको समन्वयलाई आगामी दिनमा नयाँ उचाईमा पु¥याइने प्रतिबद्धता जनाए । उनले महालेखालाई सुधार गर्न र अझै सशक्त बनाउन विभिन्न सातवटा सुझाव पेश गरेका थिए । जसअन्तर्गत महालेखालाई वित्तीय रुपमा स्वतन्त्र बनाउनुपर्ने, अंकमा मात्रै सीमित नभई सार्थक परिणाम दिनुपर्ने, कार्यमूलक लेखापरीक्षणमा जोड दिनुपर्ने, महालेखालाई प्रविधियुक्त बनाउनुपर्ने लगायत रहेका छन् । कार्यक्रममा बोल्ने प्रमुख अतिथि र विशिष्ट अतितिथले महालेखालाई अझै शक्तिशाली र स्वायत्त बनाउन जोड दिएका छन् । 

 कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै महालेखा परीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन तयार गर्ने नियमित कार्य बाहेक यो वर्षदेखि नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणालीमार्फत सबै सङ्घीय तथा प्रदेश मन्त्रालयमा रायसहितको मन्त्रालयगत प्रतिवेदन जारी गरिएको र तीनैतहका सरकारको प्रारम्भिक प्रतिवेदन बाहेक ७५ हजार १९० पेजको अन्तिम प्रतिवेदन जारी भएको बताए । महालेखापरीक्षक रायाले महालेखा परीक्षक कार्यालयले रणनीतिक योजना, विभिन्न सरोकारवालासँगको पृष्ठपोषण, लेखापरीक्षणको अनुभव तथा असल अन्तर्राष्ट्रिय अभ्यास अनुसार वार्षिक लेखापरीक्षण योजना, लेखापरीक्षण नीति तथा वार्षिक कार्यतालिका प्रकाशन गरी सरोकारवालासँगको छलफल तथा अन्तरक्रिया गरी लेखापरीक्षण सम्पन्न गर्ने गरिएको र  यस कार्यालयले सम्पादन गरेको कार्यको सम्बन्धमा अन्य देशको सर्वोच्च लेखापरीक्षण संस्थाद्वारा समकक्षी पुनरावलोकन गर्ने गरिएको जानकारी दिए । 

उनले सार्वजनिक निकायबाट भएका काम कारबाहीको बारेमा सरोकारवालालाई सुसूचित गराउन वार्षिक प्रतिवेदनका सारभूत विषयहरू समावेश गरी वार्षिक प्रतिवेदनको सारांश समेत तयार गर्नुका साथै वार्षिक प्रतिवेदनको इन्फोग्राफिक्स, कार्यमूलक र सङ्गठित संस्थाको लेखापरीक्षणको छुट्टाछुट्टै प्रतिवेदन कार्यालयको वेबसाइटमार्फत प्रकाशित गरिएको बताए  । ‘सोको अतिरिक्त महालेखापरीक्षकले २०५९ देखि २०८१ सम्म आफ्ना २३ वटा वार्षिक प्रतिवेदनमार्फत समग्र वित्तीय अनुशासन कायम गर्न तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न दिइएका सुझाउहरुको सँगालो प्रकाशन गरी  लोकार्पण गर्न पाउदाँ कार्यालय परिवारलाई हर्ष लागेको छ।’रायाले भने । महालेखापरीक्षक रायाले गत वर्षको  प्रतिवेदन अवधिसम्म रु.२८ अर्ब २९ करोड ४० लाख सम्परीक्षण भएको र सोमध्ये लेखापरीक्षण तथा सम्परीक्षणबाट सो वर्ष रु.१४ अर्ब ४८ करोड असुल भएको जानकारी दिदै प्रतिवेदन अवधि पश्चात समेत सम्परीक्षण कार्यलाई निरन्तरता दिई हालसम्म ३८ अर्व ३१ करोड ६२ लाखको सम्परीक्षण भएको स्पष्ट पारे ।

 महालेखापरीक्षक रायाले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी महालेखापरीक्षकको कार्यालयको रणनीतिक योजना २०८२-८३–२०८६-८७ स्वीकृत गरेको र  उक्त रणनीतिको कार्यान्वयनबाट कर्मचारीहरूको व्यक्तिगत, प्रणालीगत तथा संस्थागत क्षमता अभिबृद्धि भई समग्र सार्वजनिक क्षेत्रको लेखापरीक्षण गुणस्तरमा अभिबृद्धि हुने विश्वास लिइएको बताए । रायाले महालेखा परीक्ष्क कार्यालयले  सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरुमा सक्रिय सहभागिता जनाउँदै आएको स्पष्ट पारे । 

महालेखापरीक्षक रायाले लेखापरीक्षणको गुणस्तर र प्रभावकारिता अभिवृद्धिका लागि वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता समेत आवश्यक पर्ने हुँदा सोका लागि सङ्घीय संसद र नेपाल सरकारबाट आवश्यक सहयोग प्राप्त भइ रहेको र  आगामी दिनमा समेत यसको निरन्तरता हुने विश्वास व्यक्त गरे । 

महालेखापरीक्षक रायाका अनुसार  वार्षिकोत्सवको अवसरमा २५ वर्षसम्म सेवा अवधि पुरा गरेका ६ जना कर्मचारीहरूलाई दीर्घसेवा सम्मान प्रदान गरिएको छ  भने  कार्यालयका कर्मचारीहरूमध्ये लेखापरीक्षण कार्यमा उत्कृष्ट कार्य गर्ने ७ जना र लेखापरीक्षण व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने ३ जना कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको छ।

 महालेखापरीक्षक रायाले लेखापरीक्षण वित्तीय पारदर्शिता एवम् आर्थिक सुशासनका विषयमा निरन्तर रुपमा समाचार तथा लेख रचना प्रकाशित गरी वित्तीय सुशासनमा योगदान पु¥याउने सञ्चारकर्मीलाई पुरस्कार गर्ने नीति पहिलोपटक अख्तियार गरिएको र यसलाई निरन्तरता दिइने बताए । 

 सो  वार्षिकोत्सवको अवसरमा महालेखा परीक्षक कार्यालयले दीर्घजीवि लेखापरीक्षण सेवा सम्मानद्वारा सो  कार्यालयका पूर्व उपमहालेखापरीक्षक श्री रामप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

  कार्यालयमा उत्कृष्ट काम गरेका विभिन्न १० जना कर्मचारीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा नायब महालेखापरीक्षक बालकृष्ण थापा, निर्देशकहरु  दुर्गा बहादुर बस्नेत, रोशन दास, लेखापरीक्षण अधिकारीहरु दिवश शंकर अधिकारी,सत्यराज जोशी, नविन लुइटेल, कम्प्युटर अप्रेटर हर्कमान गर्वुजा, लेखापरीक्षण अधिकारी अनिता कुमारी थापा, दीपक आचार्य र कार्यालय सहयोगी छन्दप्रसाद अधिकारी रहेका छन् । 
कार्यक्रममा बेरुजु रकम भन्दा बढी संपरीक्षण्या  गर्ने विभिन्न पालिकाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

 त्यस अवसरमा आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षणमा देशभरका ७ सय ५३ वटा पालिकामध्ये शून्य बेरुजु कायम गर्न सफल एकमात्रै काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान गरिएको थियो ।