काठमाडौँ।
महालेखापरीक्षक कार्यालयले आफ्नो ६७ औ वार्षिकोत्सवको अवसरमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितलाई पुरस्कृत गरेको छ ।
सम्पादक पण्डितले लेखापरीक्षण, वित्तीय पारदर्शीता तथा आर्थिक सुशासन विषयमा नियमित रुपमा लेख रचना तथा समाचार प्रकाशित गरी मुलुकको समग्र सुशासन र वित्तीय अनुशासन कायम गर्न महत्त्वपूर्ण योगदान दिएको भन्दै महालेखाले उनलाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेको हो ।
महालेखा परीक्षक तोयम रायाको अध्यक्षतामा सम्पन्न ६७ औ वार्षिकोत्सव समारोहमा कार्यक्रमका विशिष्ट अतिथि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सम्पादक पण्डितलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका हुन् । सम्पादक पण्डितले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लामो समयदेखि लेख रचना तथा समाचार प्रकाशित गर्दै सुशासनका लागि पैरवी गर्दै आइरहेका छन् । उनले बेरुजु न्यूनीकरणमा सरकारी निकायलाई झकझकाउने तथा सार्वजनिक निकायहरुमा उत्तरदायित्व, पारदर्शीता र निष्ठा प्रवद्र्धन गराउने खालका लेख रचनाहरु समेत प्रकाशित गर्दै आइरहेका छन् ।

महालेखा परीक्षक कार्यालयले आफ्नो स्थापनाको ६७ औ वार्षिकोत्सव मनाइरदा लेखापरीक्षण, वित्तीय पारदर्शीता तथा आर्थिक सुशासनमा लेख रचना तथा समाचाहरु प्रकाशन गर्ने सञ्चारकर्मीलाई पहिलो पटक पुरस्कृत गर्ने नीति अख्तियार गरेको हो । पण्डित महालेखापरीक्षक कार्यालय बाट पुरस्कृत हुने पहिलो सञ्चारकर्मी हुन् । महालेखाले आगामी दिनदेखि यो नीतिलाई निरन्तरता दिइने जनाएको छ ।
सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बोल्दै घिमिरेले महालेखापरीक्षक कार्यालय लेखापरीक्षणको गुणस्तरीयता वृद्धि गर्न लागिरहेकोमा खुसी व्यक्त गर्दै सोही अनुसार आगामी दिनमा नवीनतम प्रविधिहरु प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए । सभामुख घिमिरेले मुलुकमा व्याप्त विकृति र आर्थिक कुशासन रोक्न महालेखाले सरकारी निकायलाई दिएको सुझावहरुको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताए । यस्तै कार्यक्रमका विशिष्ट अतिथि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाले प्रभावकारी रुपमा लेखापरीक्षण गरिरहेको बताउँदै महालेखापरीक्षक कार्यालयलाई वित्तीय स्वतन्त्रता आवश्यक रहेको स्पष्ट पारे ।
उनले महालेखापरीक्षक कार्यालयले कार्यमूलक लेखापरीक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै महालेखापरीक्षक तोयम रायाले लेखापरीक्षणलाई व्यवस्थित र दिशा निर्देश गर्न वार्षिक लेखापरीक्षण योजना र सोको आधारमा निकाय र कार्यालयगत लेखापरीगण योजना तयार गरी उक्त योजना अनुसार लेखापरीक्षण ऐन, मापदण्ड मार्गदर्शन एवं निर्देशिकाको पालना गरी लेखापरीक्षण सम्पन्न गर्ने गरिएको जनाए । महालेखापरीक्षक रायाले आर्थिक अनुुशासनको वातावरण बनाउन बेरुजु शून्य पार्ने निकायलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरिएको जानकारी दिए । साथै उनले कर्मचारीको क्षमता अभिवृद्धिलाई विशेष प्राथमिकतामा राखिएको बताए ।त्यस अवसरमा आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षणमा देशभरका ७ सय ५३ वटा पालिकामध्ये शून्य बेरुजु कायम गर्न सफल एकमात्रै काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान गरिएको थियो । साथै सोही अवसरमा पूर्व कर्मचारीलाई सम्मान गर्नुका साथै विभिन्न कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।











प्रतिक्रिया