प्रचण्डद्वारा आत्मनिर्भर अर्थतन्त्रका लागि किसानलाई न्याय दिन जोड


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानलाई वास्तविक न्याय दिनुपर्ने बताएका छन्।

धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जलवायु अनुकूल धान जातको विकास र स्थानअनुसार मल सिफारिसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

धान नेपालको कुल खाद्यान्न उत्पादनको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने भएकाले यो अर्थतन्त्रको मेरुदण्ड भएको उनले उल्लेख गरे।

‘धान बालीमा सघनतास् खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता झल्काउने उनले बताए। साथै, मल, बीउ र सिँचाइ अभावले किसान मारमा परेको भन्दै वर्तमान सरकारको कमजोर नीतिका कारण समस्या झन जटिल बनेको उनले आरोप लगाए।

प्रचण्डले बीउ, मल, सिँचाइ तथा धान जोनहरूमा पर्याप्त लगानी गर्न सरकारसमक्ष आग्रह गर्दै धानखेतीमा निर्भरता घटाउनुपर्ने बताए।