उखु किसानलाई अनुदान भुक्तानी यसै सातादेखि, पहिलो चरणमा ८० करोड


 सर्लाही। 

सरकारले उखु किसानलाई उपलब्ध गराउने ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान रकम किसानको खातामा यसै साताबाट पठाउने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीका अनुसार पहिलो चरणमा ८० करोड रुपैयाँ किसानको खातामा पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । उखु किसानको बाँकी अपुग रकमका लागि अर्थ मन्त्रालयसँग माग गरिने र क्रमशः  किसानलाई भुक्तानी गरिँदै जाने  मन्त्री अधिकारीले जानकारी दिए।

 नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहको नेतृत्वमा टोलीले  उखु किसानको अनुदान कटौती नगर्न र समयमै किसानलाई वितरण गर्दै आएको अनुदानको रकम उपलब्ध गराउन माग गर्दै मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएक छन्।

मन्त्री अधिकारीका अनुसार देशभरका उखु किसानलाई पुरै अनुदान रकम भुक्तानी गर्न सरकारलाई यो वर्ष करिब १ अर्ब ४१ करोड रुपैयाँ आवश्यक पर्ने बताए ।

मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै  नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब १ अर्ब ६० करोड रुपैयाँ उखु किसानलाई  अनुदान उपलब्ध गराउन माग गर्दै सरकारलाई ध्यानाकर्षण गराएको छ।