सिरहामा आँपको रुखमुनी एक युवक मृत भेटिए

घाँटीमा गम्छा बेरिएको अवस्थामा शव फेला


सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा आज बिहान एक हृदयविदारक घटना सार्वजनिक भएको छ। ४३ वर्षीय अजय महरा आफ्नो घर नजिकैको आँपको रुखमुनी मृत फेला परेका छन्।

शव देख्नेबित्तिकै स्थानीयवासी स्तब्ध बने। मृतकको घाँटीमा गम्छा बेरिएको अवस्थामा शव फेला परेको हो, जसले घटनालाई झनै शंकास्पद बनाएको छ।

सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार मृतक अजय महरा रामसेवक महराका छोरा हुन्। बिहानै मुलिफ अलि मन्सुरको बगैंचामा शव देखिएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो।

प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ।
“घटनाको स्वरूप हेर्दा हत्या जस्तो देखिन्छ,” प्रहरीको भनाइ छ। तर वास्तविकता विस्तृत अनुसन्धानपछि मात्र स्पष्ट हुने छ।

स्थानीयवासी डर र त्रासमा छन् भने मृतकको परिवार शोकमा डुबेको छ।