नुवाकोटमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरीको कुकुरसहित टोली परिचालन


काठमाडौँ।

नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलाले बगाएर बेपत्ता भएकी ३२ वर्षीया कमला बलामीको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले कुकुरसहितको टोली परिचालन गरेको छ।

अविरल वर्षाले खोलामा पानीको बहाव बढेपछि बिहीबार उनी बेपत्ता भएकी थिइन्। उनको खोजीका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमाण्डमा सात जनाको टोली र दुईवटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुरसहित खटाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

त्यसैगरी, शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षाकर्मीहरू पनि खोजी तथा उद्धार कार्यमा परिचालित भएका छन्।

घटनास्थल नजिकै रहेको तीनवटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएका छन्। उनलाई उद्धार गरी काठमाडौं पठाइएको छ भने बाढीले केही चौपाया पनि बगाएको जनाइएको छ।