काठमाडौं ।
काठमाडौं जिल्लाभित्र बहने प्रमुख नदीहरू बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागले बिहीबार राति ११: ५५ बजे जारी गरेको विवरणअनुसार यी नदीहरूको बहाव सतर्कता तह नजिक पुगेको जनाउँदै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागले एक सूचना जारी गर्दै नदीहरूमा पानीको सतह अझै बढ्ने सम्भावना रहेकाले विशेष गरी नदी किनार आसपासका क्षेत्र र बस्तीमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। साथै, विष्णुमती नदी किनार भएर यात्रा गर्ने यात्रुहरूले विशेष सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
मनसुनी वर्षाको कारणले देशका विभिन्न भागमा नदी र खोलाहरूमा बहाव बढ्दो क्रममा रहेका बेला काठमाडौं उपत्यकाभित्र पनि जोखिम बढ्न थालेको देखिएको हो। विभागले आकस्मिक बाढी वा डुबानको सम्भावनालाई ध्यानमा राख्दै समयमै सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।











प्रतिक्रिया