काठेखोलामा दोबिल्ला–चनौटे झोलुङ्गे पुल सञ्चालनमा


बागलुङ ।

काठेखोला गाउँपालिका ६ दोबिल्ला र वडा १ चनौटे जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ । २८ लाख २३ हजार ६ सय १ रुपियाँको लागतमा निर्माण भएको यस पुलले स्थानीयहरूलाई आवतजावत र खाद्यन्न ढुवानीमा सहजता ल्याउने स्थानीयका लागि ठूलो राहत भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले योजना छनोट गरी निर्माण गरेको पुलमा संघीय सरकारले ८५ प्रतिशत, स्थानीय तहले १३ प्रतिशत र २ प्रतिशत जनश्रमदान गरेको छ ।

काठेखोलाका अध्यक्ष राजु थापाले पुलले बजार किनमेल, विद्यालय आवतजावत र दैनिक जीवन सहज हुने बताए । हाल जिल्लामा झोलुङ्गे पुलको संख्या बढ्दै गएको छ र आगामी आर्थिक वर्षमा थप सात पुल निर्माण हुने तयारी पनि भइरहेको छ । यसले चार हजारभन्दा बढी स्थानीयलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ ।