नवलपरासी ।
पछिल्लो समय दैलेखमा चिनियाँ प्राविधिक अनुसन्धानबाट प्राकृतिक ग्यासको विशाल भण्डार रहेको खबर फैलिएसँगै यस्तै राष्ट्रिय महत्वको धौवादी फलाम खानी पनि चर्चामा आएकोे छ । पूर्वी नवलपरासीको हुप्सेकोटस्थित धौवादीमा फलामको उत्पादन आर्थिक तथा प्राविधिक रूपले सम्भव देखिएपछि धौवादीमा फलाम खानी तथा आइरन–स्टिल उद्योग स्थापनाको चर्चा चुलिएको छ ।
२०७३ सालमा खानी तथा भूगर्भ विभागद्वारा हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ अन्तर्गतका विभिन्न स्थानमा गरेको अध्ययनले यहाँ करिब ९ करोड ९० लाख टन उत्पादन योग्य फलाम रहेको देखाएको थियो । अध्ययनमा हुप्सेकोटको नाम्जाकोट, दुलुङ्गा, पोखरीदेखि धौवादीसम्मको करिब १० किलोमिटर क्षेत्रमा १५ देखि ३० मिटर मोटाइ तथा सय मिटरसम्म गहिराइका हेमाटाइट वर फेला परेको थियो । मुलुकको वर्तमान आयातको अवस्था यथावत रहेमा यहाँको खानी क्षेत्र र भण्डारण परिमाणले करिब ३७ वर्ष थेग्न सक्ने विज्ञहरूको अनुमान छ । हाल देशमा वार्षिक करिब २७ लाख टन फलामजन्य वस्तुको खपत हुने गरेको बताइन्छ ।
धौवादीमा फलामको ठूलो खानी रहेको पुष्टि भएसँगै सरकारले २०७६ सालमा यसको विस्तृत अध्ययन तथा व्यावसायिक उत्पादनका लागि धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना गरेको थियो । कम्पनीले फलाम खानी तथा आइरन–स्टिल उद्योग स्थापना निमित्त विस्तृत सम्भाव्यता अध्ययनका लागि अन्तर्राष्ट्रिय परामर्शदाताहरूको छनौट गरी २०७९ असोज ९ मा सम्झौता गरेको थियो ।
छनौट भएका परामर्शदाता कम्पनीहरूका साथमा फलाम भण्डारण क्षेत्र दुलुङ्गा, पोखरी, राम्चे, धौवादी क्षेत्रको निरीक्षण, अन्वेषण तथा ड्रिलिङ समेत गरी संकलित नमूना चीनको छेन्दुस्थित प्रयोगशालामा परीक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा उद्योग स्थापना गर्न हौसिएको हो । कम्पनीका प्रमुख कार्यकारी निर्देशक डा.जनकबहादुर चन्दले विभिन्न चरणमा गरिएको अध्ययन र नमूना परीक्षणबाट धौवादीको फलाम खानी आर्थिक तथा प्राविधिक रूपले यसको व्यवसायिक उत्पादनका लागि सम्भाव्य रहेको बताउनुभयो ।
अध्ययनका क्रममा झण्डै ४१ वर्ग किलोमिटरमा फैलिएको खानी क्षेत्रमा फलामका नयाँ बेन्डहरू पनि फेला परेका र ती बेन्डहरू २५ देखि ३५ मिटरसम्म मोटाइका रहेको कम्पनीको तथ्यांकमा उल्लेख छ ।फलामको गुणस्तर मापनका लागि चिनियाँ प्रयोगशालामा पठाएइएका नमूनाको ल्याब स्केल तथा पाइलट स्केल परीक्षण गराउँदासमेत सकारात्मक नतिजा प्राप्त भएको थियो ।
संकलित नमूनाको चीनमा गरिएको पटक पटकको परीक्षणले यहाँको खानीमा २३ देखि ५६ प्रतिसतसम्म फलामको धाउ भेटिएको र चीनमै पनि एक कम्पनीले २० देखि ३० प्रतिशतकै फलामे धाउमा स्टिलको व्यावसायिक उत्पादन गरिरहेकोले धौवादी फलाम कम्पनी लिमिटेड उद्योग स्थापना गर्न थप हौसला मिलेको हो । डा.चन्दका अनुसार योसँगै फलाम उद्योग स्थापनाका लागि कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन, खानी योजना कार्यअन्तर्गत लागत अनुमान, जोखिम विश्लेषण, खानी ब्लकको विभागीय स्वीकृतिलगायतका काम अन्तिम चरणमा पु¥याएको छ । यसको साथै पहुचमार्गमा नाला निर्माण, विद्युत् आपूर्तिका लागि २२० केभी प्रशारण लाइन जोड्ने काम सकिएसँगै कम्पनी ठेक्का प्रक्रियाको नजिक पुगेको निर्देशक चन्दले बताउनुभयो ।
फलाम खानी उद्योग स्थापना भएपछि यहाँका करिब ३ हजार स्थानीयले प्रत्यक्ष तथा २० देखि ३० हजार मानिसले अप्रत्यक्ष रोजगारी पाउने उहाँको भनाइ रहेको छ । उहाँले भन्नुभयो– ‘पूर्व पश्चिम महेन्द्र राजमार्गको कावासोतीबाट करिब २० किलोमिटर उत्तरमा सरकारको पूर्ण स्वामित्व रहेको यस कम्पनीले फलाम खानी उद्योग संचालन गरेसँगै मुलुकमा हाल भइरहेको फलामको एक चौथाइ हिस्सा आयात प्रतिस्थापन गर्न सकिन्छ ।’
कम्पनीले उद्योग स्थापना गरी सकेपछि देशका विभिन्न भाग एवं जिल्लामा रहेका फलामका अन्य धाउबाट कच्चा फलाम संकलन गरी यसै उद्योगमार्फत प्रशोधन गरेर मुलुकलाई फलाममा शतप्रतिशत आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
स्थानीयबासीलाई २ प्रतिशतसम्म सेयरको अग्राधिकार सुनिश्चित गर्दै पीपी मोडलमा कम्पनीले ओपन पिड प्रकृतिको फलाम उत्पादन उद्योग स्थापना कार्य अघि बढाइरहँदा सरोकारवाला तथा विज्ञहरूले भने यसको सूक्ष्म अध्ययनमै जोड दिएका छन् ।
कतिपय विज्ञहरूले खानीबाट निकालिने कच्चा पदार्थ फलामको धाउ मध्यम स्तरको रहेकोले गुणस्तरीय आइरन उत्पादन निमित्त चीन, क्यानडामा जस्तै प्रशोधनका थप भट्टीहरूको आवश्यकता पर्ने र यसबाट अतिरिक्त आर्थिक भार थपिनेप्रति चिन्ता जनाउँदै यसमा सूक्ष्म अध्ययनको खाँचो औंल्याएका छन् ।स्थानीय जनप्रतिनिधि, जिल्लास्थित सरोकारवालाहरूले भने सरकार एवं स्वयं प्रधानमन्त्रीले फलामको व्यावसायिक उत्पादनका लागि धौवादी फलाम खानी सञ्चालनका विषयमा चासो लिई रहँदा कम्पनीले जिल्लामै कार्यालय खोलेर दु्रत गतिमा अघि बढ्नुपर्ने बताउँछन् ।











प्रतिक्रिया