काठमाडौं।
सशस्त्र प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गरेका सोम कौशिक क्षेत्री पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको हो।
पक्राउ परेका ४७ वर्षीय क्षेत्री काठमाडौं महानगरपालिका–१५ का स्थायी बासिन्दा हुन्। उनले आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिलाई ‘सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकालीदिन्छु’ भन्दै ठगी गरेका थिए।
प्रहरीका अनुसार क्षेत्रीले पीडितसँग आफ्नो ई–सेवा आइडी तथा विभिन्न बैंक खातामार्फत कुल रु ४,९१,००० (चार लाख एकानब्बे हजार रुपैयाँ) संकलन गरेका थिए। रकम संकलन गरेपछि उनी सम्पर्कविहीन बनेका थिए। पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट उनलाई पक्राउ गर्न अनुमति (पुर्जी) जारी गरिएको थियो।
मिति २०८२ साल असार ८ गते पक्राउ पुर्जी जारी भएसँगै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८२ साल असार ९ गते रामकोटमा उनलाई फेला पारी पक्राउ गरेको हो।
हाल उनलाई ठगी सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीमाथि ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा उनका विरुद्ध यसअघि पनि यस्तै प्रकारका उजुरीहरू दर्ता भएको हुन सक्ने आशंका गरिएको छ।
सार्वजनिक सेवाको नाममा ठगी गर्ने यस्ता घटनाहरू बढ्दो क्रममा छन्। प्रहरीले नागरिकलाई यस्ता प्रलोभनमा नपर्न आग्रह गर्दै कुनै पनि सरकारी जागिर वा नियुक्तिका सन्दर्भमा अनधिकृत व्यक्तिहरूसँग रकम लेनदेन नगर्न चेतावनी दिएको छ।
प्रहरीले ठगीमा संलग्न अन्य सम्भावित व्यक्ति तथा सञ्जालको पनि खोजी भइरहेको जनाएको छ।











प्रतिक्रिया