काठमाडौं ।
सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न ९ वटा कार्यादेशसहित उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन्।
समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन्। गृहमन्त्री लेखकका अनुसार, समितिलाई तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि सुझाव दिनसाथै नीतिगत तथा कानुनी सुधार आवश्यक परे त्यसको मस्यौदा समेत तयार पार्ने जिम्मेवारी दिइएको छ।
समितिले अध्यागमन प्रणालीमा देखिएका समस्या पहिचान गरी सुधारका उपायहरू सुझाउनेछ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा असर नपर्ने गरी समिति सक्रिय रहनेछ।
गृहमन्त्री लेखकले प्रतिनिधि सभाको बैठकमा जानकारी दिँदै समितिको सुझावअनुसार सरकार कार्यान्वयनमा जाने स्पष्ट पारे। उनले यो छानबिनबाट भिजिट भिसा सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास पनि व्यक्त गरे।











प्रतिक्रिया