काठमाडौं ।
खाडी मुलुकका उडानहरू रद्द भएपछि वैदेशिक रोजगारीका लागि जाने यात्रुहरू सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्।
इरानले कतारमाथि आक्रमण गरेपछि उत्पन्न तनावका कारण सोमबार रातिदेखि खाडी मुलुकतर्फका अधिकांश उडानहरू रद्द भएका थिए। नेपाल एयरलाइन्सको दोहातर्फ उड्ने उडान राति ११ बजेका लागि तय भए पनि सुरक्षा कारण उडान स्थगित गरिएको हो।
उडानका लागि बोर्डिङ प्रक्रिया सुरु भइसकेको बेला आक्रमणको सूचना आएपछि उडान तत्काल स्थगन गरिएको थियो। सो घटनापछि वैदेशिक रोजगारीका लागि कतार जान लागेका अधिकांश यात्रुहरू विमानस्थलमै अलमलमा परेका थिए।
रातभर विमानस्थलमै बस्न बाध्य यात्रुहरूलाई प्रहरीले राति करिब १ बजेतिर विमानस्थल क्षेत्रबाट हटाएको थियो।
हाल कतारको आकाशीय मार्ग पुनः सञ्चालनमा आएको र स्थिति क्रमशः शान्त हुँदै गएको जनाइएको छ। यसका कारण खाडी मुलुकतर्फका उडानहरू क्रमशः पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ। नेपाल एयरलाइन्सको स्थगित उडान आज (मंगलबार) मध्याह्न १२ बजेका लागि पुनः तालिका तोकिएको छ।











प्रतिक्रिया