वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह


नवलपरासी ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयीत्रिवेणी खोलाको डाइभर्सन बगाएपछि सडक डिभिजन कार्यालयले डाइभर्सन निर्माण कार्य बन्द गरेको छ। डाइभर्सन बन्द भएपछि बुटवल–नारायणगढ सडकखण्डमा यातायात अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो।

डाइभर्सन बनाएको प्रत्येक पटक खोलाको बाढीले बगाएपछि स्थायी समाधान नभएसम्म डाइभर्सन नबनाउने निर्णय गरिएको हो। प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरेको छ।

गत आइतबार मात्र निर्माण गरिएको विनयीत्रिवेणी खोलाको डाइभर्सन सोमबार बिहानै खोलामा आएको बाढीले बगाएपछि यातायात सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो।

आइतबार डाइभर्सनबाट करिब दुई सय गाडी वारपार गराइएको थियो तर रातिको बाढीले डाइभर्सन पूर्ण रूपमा बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिनुभयो।

यस्तै, दाउन्ने खण्डअन्तर्गत दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर सडक भत्किएपछि पनि यातायात ठप्प भएको छ। निरन्तरको वर्षाका कारण बाटो चिप्लो हुँदा गाडी चलाउन सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो। गिटी–बालुवा बिछ्याएर सञ्चालन गर्ने प्रयास असफल भएपछि सवारी साधनहरू बर्दघाटबाट पश्चिमतर्फ र चोरमाराबाट पूर्वतर्फ फर्काइएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नवलपरासी पूर्वको तीन स्थान उच्च जोखिममा रहेकाले स्थानीय प्रशासन, राजनीतिक दलहरू र ठेकेदार कम्पनीले सर्वसाधारणलाई वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरेका छन्।