महाकाली कोरिडोरको तीन सय किलोमिटर ट्र्याक खुलेको, न्यून बजेटमा पनि कालोपत्रे सुरु


बैतडी ।

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशको दक्षिण कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै उत्तरको दार्चुला–टिङ्करसम्म जोड्ने ४१३ किलोमिटर लामो महाकाली कोरिडोर मध्ये करिब ३ सय किलोमिटर सडक ट्र्याक खुलेको छ। नेपाल–चीन सीमा जोड्ने यो व्यापारिक महत्वको मार्ग सुदूरपश्चिमको आर्थिक विकासका लागि कोसेढुङ्गा मानिएको छ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन आयोजना कार्यालयले जिम्मा लिएको ३३४ किलोमिटर सडकमध्ये २८१ किलोमिटर ट्र्याक खुलिसकेको छ। दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर कठिन चट्टानी खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ। सेनाले हालसम्म १७ किलोमिटर सडक खनेको छ, जसमा चालु आर्थिक वर्षमा मात्र १।८ किलोमिटर निर्माण गरिएको छ।

आयोजनाले कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ५८ किलोमिटर, बैतडीमा १४४ किलोमिटर, र दार्चुलामा १२१ किलोमिटर गरी कुल ३३४ किलोमिटर सडक निर्माणको जिम्मा लिएको हो। सूचना अधिकारी रामचन्द्र जैसीले जानकारी दिए अनुसार आयोजनाको हालसम्मको प्रगति ९० प्रतिशत पुगेको छ।

चट्टानी भागमा विस्फोट अनुमति, २० किलोमिटर ट्र्याक थप खुल्ने तयारी
चालु आर्थिक वर्ष २०८१\८२ मा कोरिडोरमा थप २० किलोमिटर ट्र्याक खन्ने योजना छ। डडेलधुराको भागेश्वर, बैतडीको पञ्चेश्वरस्थित रोडीदेवल र दशरथ चन्द नगरपालिकाको कन्सनीगाड लगायतका कठिन भिरालो क्षेत्रमा निर्माण कार्य टेन्डरमार्फत अघि बढाइएको छ। बैतडी र दार्चुलाका केही भागमा कडा चट्टानका कारण विस्फोटक पदार्थको स्वीकृति समेत लिइसकिएको छ।

यस योजना अन्तर्गत विसं २०६६ मा दार्चुला–टिङ्कर सडकको रूपमा सुरु भएको परियोजना २०७७ मा कञ्चनपुरको ब्रह्मदेव जोडिएपछि महाकाली कोरिडोरको नामले विस्तार भएको हो। हालसम्म ट्र्याक खोल्न तीन अर्ब ६९ करोड २१ लाख रुपैयाँ खर्च भइसकेको छ भने एक अर्ब ५२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ। कोरिडोर निर्माणमा कुल १३ अर्ब ४९ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

न्यून बजेटमा पनि कालोपत्रे थालिएको
सूचना अधिकारी जैसीका अनुसार, आगामी आर्थिक वर्ष २०८२\८३ का लागि २२ करोड ९७ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरिएको छ। चालु आवमा ४१ करोड रुपैयाँ खर्च भइसकेको भए पनि आगामी वर्षका लागि बजेट न्यून रहेको छ। यद्यपि ट्र्याक खुलाउने कामसँगै कालोपत्रे कार्य पनि थालिएको छ।

हालसम्म डडेलधुरामा ३.४ किलोमिटर र दार्चुलामा १ किलोमिटर कालोपत्रे गरिएको छ। साथै एउटा पुल निर्माण समेत सम्पन्न भइसकेको छ। कोरिडोरमा कुल ३५ वटा पुल निर्माण हुनेछन्, जसमा कञ्चनपुरमा ५, डडेलधुरामा १०, बैतडीमा १० र दार्चुलामा ९ वटा पुल रहने छन्।

व्यापार र धार्मिक पर्यटनलाई टेवा
महाकाली कोरिडोरले सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लालाई जोड्दै नेपाल–चीनको ताक्लाकोट सीमास्थित पिल्लर नम्बर १ सम्म पुग्नेछ।

यस कोरिडोरले भारत तथा चीनसँगको व्यापार प्रवाह बढाउनुका साथै कैलाश मानसरोवर यात्रा गर्न चाहने पर्यटकका लागि छोटो र सहज मार्ग उपलब्ध गराउने छ।

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने , यो सडक योजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।