झापामा सशस्त्र प्रहरीद्वारा सञ्चालित इलेक्ट्रीसियन तालिम सम्पन्न


काठमाडौँ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने युवाहरूको सीप विकासका लागि सशस्त्र प्रहरीले सञ्चालन गरेको इलेक्ट्रीसियन तालिम आइतबार झापाको गौरीगंज गाउँपालिका–३ मा सम्पन्न भएको छ।

उद्योग वाणिज्य संघको सभाहलमा आयोजित तालिम समापन कार्यक्रममा सोही गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्य तथा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुख, स्थानीय भद्रभलाद्मी लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

२० जना स्थानीय युवाको सहभागिता रहेको उक्त तालिम चैत्र २९ गतेदेखि सुरु भई असार ९ गतेसम्म सञ्चालन गरिएको थियो। तालिम सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, झापाको आयोजनामा, गौरीगंज गाउँपालिकाको सहजीकरण र बहुप्राविधिक तालिम शिक्षालय, दमकको सहकार्यमा सम्पन्न भएको हो।

तालिमले सीमावर्ती क्षेत्रका युवाहरूलाई व्यवहारिक सीपमा दक्ष बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न मद्दत गर्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।