काठमाडौँ।
युद्धको चपेटामा परेको इरानमा अलपत्र परेका नेपाली नागरिकमध्ये ११ जना भोलिसम्म भारत आइपुग्ने भएका छन्। इरानस्थित मदस शहरमा रहेका उनीहरूको उद्धार भारत सरकारले गरिरहेको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले १६ जना नेपालीमध्ये ११ जनाको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन्। उनका अनुसार, ती नागरिक हाल मदसमा सुरक्षित छन् र भारतमार्फत स्वदेश फर्किने तयारीमा छन्।
‘इरानमा रहेका १६ नेपालीमध्ये ११ जना अहिले मदसमा हुनुहुन्छ,’ मन्त्री राणाले भनिन्, ‘भारत सरकारले उद्धार गर्ने प्रतिबद्धता जनाएको छ, र सम्भवत: भोलिसम्म ती सबै भारत आइपुग्नेछन्।’
तर, बाँकी ५ जना भने कानूनी प्रक्रिया अन्तर्गत जेलमा रहेका छन्। उनीहरू गैरकानूनी रूपमा इरान पुगेको बताइएको छ। राणाले उनीहरूलाई पनि उद्धार गर्ने सम्भावनाबारे कूटनीतिक पहल भइरहेको जानकारी दिइन्।
‘जेलमा रहेका नेपालीको पनि रेस्क्यु सम्भव छ कि भनेर प्रयास गरिरहेका छौं,’ उनले थपिन्।
मन्त्री राणाले इरान–इजरायलबीचको पछिल्लो द्वन्द्वलाई गम्भीर रूपमा नियालिएको बताइन्। त्यस क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षामा उच्च प्राथमिकता दिइएको र सम्बन्धित देशहरूका नेपाली राजदूतहरूसँग समन्वय भइरहेको उनले बताइन्।
‘इजिप्ट, कतार र पाकिस्तानका राजदूतहरूसँग दैनिक छलफल भइरहेको छ,’ मन्त्री राणाले भनिन्, ‘आवश्यक परेमा थप उद्धार रणनीति बनाउने तयारीमा छौं।’











प्रतिक्रिया