‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ कमलादीमा

प्रहरी अधिकृतबाट गीतकारसम्मको यात्रा गुञ्जिने


काठमाडौं ।

प्रहरी अधिकृत मात्र होइन, गीत र भावनाका सशक्त अभियन्तासमेत रहेका टेक तामाङको पहिलो एकल सांगीतिक साँझ यही असार १४ गते शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। गीतकार संघ नेपालको आयोजनामा हुने ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ मा उनका देशप्रेम, जनप्रेम र जीवनका विविध भावनाले सजिएका १७ सुमधुर गीतहरू प्रस्तुत गरिनेछ।

टेक तामाङ हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख हुन्। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी सम्हाल्दै उनले लागूऔषधविरुद्धको महाअभियान, मनसुनजन्य विपद् उद्धार तालिम र अपराध अनुसन्धानमा विशिष्ट योगदान पुर्‍याएका छन्। तर यसपटक उनी बन्दूक होइन, गीत–साहित्यको मञ्चमा ‘रोल मोडल’ बनेर प्रस्तुत हुँदैछन्।

२०५० सालमा ‘छाल आउँदा सम्झनाको’ गीतबाट सांगीतिक यात्रा सुरु गरेका तामाङले सयौं गीतहरू सिर्जना गरिसकेका छन्। उनका गीतमा राष्ट्र, समाज र मानवताको स्वर झल्किन्छ, जहाँ माया, वेदना र आशाका ध्वनि गुञ्जिन्छन्।

एक साँझ, एक स्रष्टा, १७ गीत

‘नेपाल मेरो घर’, ‘आमा’, ‘स्वर्ग सुख’, ‘मीठा मीठा बोली’, ‘तिमी सागर’, ‘तिमीलाई पराइको’, ‘मनपर्छ’, ‘जन्मी खेली’, ‘मै खुकुरी’, ‘माथि माथि लेकमा’, ‘स्वर्ग झैँ शैलुङ्ग’ जस्ता गीतहरू उक्त साँझ गुञ्जिने छन्।

यो सांगीतिक साँझमा अग्रजदेखि नयाँ पुस्तासम्मका चर्चित गायक–गायिकाहरू—दीप श्रेष्ठ, किरण प्रधान, अञ्जु पन्त, शिव परियार, राजेशपायल राई, सत्यराज आचार्य, संगीता राना प्रधान, डेभिड शंकर, रुपक चौधरी, रेश्मा बम्जन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायतले टेक तामाङका सिर्जनामा स्वर दिनेछन्।

साँझमा प्रत्यक्ष वाद्यवादनको साथमा प्रस्तुत हुने यी गीतहरूले श्रोतामाझ सिर्जनात्मकताको नयाँ आयाम दिने विश्वास आयोजकले लिएको छ।

साहित्य र सुरक्षाको दोहोरो परिचय

‘बन्दूक र कलमको बेजोड सम्मिश्रण’ बनेका टेक तामाङ प्रहरीको कठोर जीवनशैलीसँगै भावनाको गहिराइमा पनि गहिरिएर उत्रिने स्रष्टा हुन्। देशको सुरक्षा जिम्मेवारीमा रहँदै उनले गीत, कविता, गजल, कथा र संस्मरणमा समेत आफूलाई सशक्त बनाएका छन्।

उनको एकल साँझका लागि गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ।

सांगीतिक साँझमार्फत गीतकार तामाङको योगदानको सम्मान मात्रै होइन, सामाजिक र साँस्कृतिक प्रवर्द्धनमा प्रहरीको भूमिका पनि उजागर हुने अपेक्षा गरिएको छ।

सिर्जना र सेवा सँगसँगै बोक्ने टेक तामाङको सांगीतिक यात्रा अब मञ्चमै जीवन्त हुँदैछ।