विनयी खोलामा डाइभर्सन नबन्ने, दाउन्ने सडक मर्मत हुँदै

11k
Shares

नवलपरासी। 

वर्षा लागेसँगै बाढीले पटक पटक ह्युमपाईप बगाएपछि पूर्व पश्चिम राजमार्ग स्थित विनयी खोलाको डाइभर्सन नबनाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता बसेको बैठकको निर्णय बमोजिम ठूला तथा भारी सवारी रोकेर दाउन्ने पहाड खण्डमा सडक मर्मतको काम गरिने छ ।

बुटवल नारायणगढ सडक बिस्तार आयोजनाले निर्माण गर्दै रहेको विनयी खोला पुलको काम नसकुन्जेल असार ७ गतेदेखि रातको समयमा सबै प्रकारका सवारी रोकेर मर्मत कार्य गर्न सडक बन्द गरिने सूचना आयोजना निर्देशनालय एडिबीले जारी गरेको छ ।

जसमा दाउन्ने खण्डमा मर्मत कार्य जारी रहने भएकोले उक्त सडकको सट्टामा सबै ठूला तथा मालबाहक सवारीलाई बैकल्पिक सडक प्रयोग गर्न सोही सूचना मार्फत अनुरोध गरिएको छ ।

बताइए अनुसार यही असार १६ गतेबाट विनयी खोलाको नयाँ पुल सञ्चालन आउने छ, हाललाई उक्त  खोलामा बारम्बार आइरहने बाढीले सवारी नै बगाउने जोखिम बढ्दै गए पछि डाइभर्सन नहालिने भएको हो ।