रास्वपा र राप्रपाका सांसदहरुले प्रतिनिधि सभाको बैठक बहिष्कार गरे


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरुले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका थिए ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै उनीहरुले बैठक नै बहिष्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीलाई अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएपछि रास्वपा र राप्रपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका थिए ।

सभामुखले कार्यसूची अगाडी बढाएपछि उनीहरु बैठक कक्ष छोडेर बाहिरिएका थिए । रास्वपा र राप्रपाका सांसदहरुले विरोध जारी रहेसँगै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको थियो । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएसँगै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले कार्यसूचिबाट हटाइएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।