काठमाडौं ।
नेपालमा वायु प्रदूषण मृत्यु र अपांगताको प्रमुख कारण बनेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार हरेक वर्ष झन्डै २६ हजार मानिसको समयअगावै मृत्यु वायु प्रदूषणका कारण भइरहेको छ भने औसत नेपालीको आयु ३.४ वर्षले घटेको छ ।
‘टु वर्डस् क्लिन एयर इन नेपाल बेनिफिटस्, पोलुसन सोर्सेज एन्ड सोलुसन्स्’ शीर्षकको उक्त प्रतिवेदनले वायु प्रदूषणसम्बन्धी विस्तृत मूल्यांकन प्रस्तुत गर्दै काठमाडौँ उपत्यका र तराई क्षेत्रलाई प्रदूषणका ‘हटस्पट’को रूपमा चिनाएको छ । पछिल्लो दशकमा प्रदूषणको स्तरमा खासै सुधार नआएको जनाउँदै प्रतिवेदनले सार्वजनिक स्वास्थ्य, श्रम उत्पादकता, पर्यटन तथा हवाई उड्डयन क्षेत्रमा समेत यसको गम्भीर असर परेको उल्लेख गरेको छ ।
विश्व बैंकका अनुसार, नेपालमा खराब वायु गुणस्तरका कारण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी बराबरको आर्थिक क्षति भइरहेको छ । प्रतिवेदनले स्पष्ट पारेको छ कि केवल एक क्षेत्रबाट लिइने कदमले समस्या समाधान गर्न सक्दैन । प्रभावकारी नतिजाका लागि बहुक्षेत्रीय र समन्वित रणनीति आवश्यक छ ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रतिवेदन सार्वजनिक कार्यक्रममा भने–‘सफा हावा र आर्थिक विकास विरोधी होइनन् । अहिले साहसी कदम चाल्ने हो भने भविष्यमा प्रदूषणको मूल्य घटाउन सकिन्छ । सरकार औद्योगिक उत्सर्जन मापदण्ड कडाइ गर्न र विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न प्रतिबद्ध छ।’
विश्व बैंकका दक्षिण एशियाका निर्देशक डेभिड सिस्लेनले भने, ‘स्वच्छ हावाका लागि नेपाललाई प्राविधिक सहयोग, वित्तीय स्रोत र क्षमतावद्र्धनका माध्यमबाट सघाउन विश्व बैंक प्रतिबद्ध छ।’ उनले स्वच्छ हावा स्वास्थ्य र समृद्धिका लागि अपरिहार्य भएको उल्लेख गरे ।
नेपालको भौगोलिक संरचना, विशेषगरी प्यालो आकारको काठमाडौँ उपत्यकाले वायु प्रवाहलाई रोक्ने भएकाले प्रदूषणको असर अझ बढी हुने बताइएको छ। विश्व बैंकले प्रदूषण न्यूनीकरणका लागि दीर्घकालीन नीतिगत सुधार, प्रविधि हस्तान्तरण र क्षेत्रीय सहकार्य आवश्यक रहेको औंल्याएको छ ।
प्रमुख सुझावहरूः
सवारी प्रदूषण नियन्त्रणः विद्युतीय गाडी प्रवद्र्धन, सवारी परीक्षण प्रणाली सुदृढीकरण, र सडक धुलो न्यूनीकरण।
औद्योगिक प्रदूषण न्यूनीकरणः साना तथा मझौला उद्योगमा स्वच्छ प्रविधिको प्रयोग, इँटा र सिमेन्ट उद्योगमा स्वच्छ इन्धनको प्रयोग।
घरायसी प्रदूषण न्यूनीकरणः विद्युतीय चुलो प्रयोगलाई प्रवद्र्धन गर्दै बायोमास चुल्होको प्रयोग घटाउने।
वन डढेलो नियन्त्रणः इन्धन सामग्री व्यवस्थापन, जनचेतना र द्रुत प्रतिक्रिया संयन्त्र विकास।
सीमापार प्रदूषण नियन्त्रणः भारत लगायत छिमेकी देशहरूसँग सहकार्य गर्दै साझा वायुमण्डलीय क्षेत्रको समस्या समाधान।











प्रतिक्रिया