सुनसरीको शिवधाराबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा


धरान।

सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट सशस्त्र प्रहरीले २ हजार १ सय ३० किलो गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ।

कोशी लोकमार्गमा नियमित गस्तीका क्रममा विशेष सूचनाको आधारमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकलाई सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस धरानले सोमबार नियन्त्रणमा लिएको हो।

उक्त ट्रकमा ७० बोरा गाँजा, ३१ बोरा अदुवा र केही तरकारीहरु राखिएको थियो। सशस्त्र प्रहरीले ट्रक नियन्त्रणमा लिई अनुसन्धान थालेको छ भने गाँजा ल्याउने व्यक्ति र ट्रक चालक हालसम्म फरार रहेका छन्।

बरामद गाँजा, ट्रक तथा अन्य सामग्रीहरु आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।