काठमाडौँ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाको नैतिकतामा प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा घिमिरेले रवि लामिछानेसँग सम्बन्धित विवादलाई उदाहरण दिँदै, ५ वटा मुद्दा चलिरहेका सांसदलाई पार्टीले संसदीय दलको नेता बनाइराख्नुको विरोध गरेका हुन्।
घिमिरेले भने, “निर्वाचन आयोगको अभिलेखमा पनि रवि लामिछाने नै रास्वपाको सभापति देखिएका छन्, जुन व्यक्ति हाल जेलमा छन्। यस्तो अवस्थामा त्यो पार्टीले कसरी अरुलाई नैतिकताको पाठ सिकाउन सक्छ?” उनले थपे, “रास्वपाका सांसदहरुले पहिला आफ्नै पार्टीभित्र नैतिकताको उदाहरण प्रस्तुत गर्न आवश्यक छ।”
सांसदबाट निलम्बित रवि लामिछाने अहिले पनि संसदीय दलको नेता रहेको कुरामा घिमिरेले प्रश्न उठाए। उनले भने, “संसद सचिवालयमा पनि रवि लामिछाने नै संसदीय दलको नेता देखिन्छन्। यस्तो व्यक्तिलाई दलको नेता बनाएर राख्नु उचित हो कि होइन?”
यसबीच, गृहमन्त्री रमेश लेखकमाथि लागेको भिजिट भिसा प्रकरणको कारण रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन र लेखकको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ। आइतबार पनि रास्वपाका सांसदहरुले नाराबाजी गरेका थिए, तर सभामुख देवराज घिमिरेले बैठकलाई अघि बढाएका छन्।











प्रतिक्रिया