काठमाडौं ।
पर्वसमय सुधार राष्ट्रिय समाज नेपालले गुरु पूर्णिमाको अवसर पारेर पत्रकार, शिक्षाविद्, संस्कृतिकर्मी लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । बुधबार राजधानीमा आयोजित एक भव्य समारोहमा नेपाल समाचारपत्रकर्मी दीपक रिजालसहित डा. रामहरि लामिछाने, राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, प्राडा मोहन तिमिल्सना, रामकृष्ण श्रेष्ठलगायतलाई ‘गुरु सम्मान’ प्रदान गरिएको हो ।
समारोहमा प्रमुख अतिथि इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले राष्ट्रिय जीवनमा अतुलनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउँदै यस्ता कार्यक्रम समाज रूपान्तरणतर्फ प्रेरित हुने धारणा व्यक्त गरे ।

पर्वसमय सुधार राष्ट्रिय समाजका महासचिव वलराम श्रेष्ठका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा २०६४ सालमा गठित पर्व सुधार राष्ट्रिय कार्यदलको सिफारिस अनुरूप सावर्णी मन्वन्तर पद्धतिअनुसार पात्रोमा ३० अंश सुधार गरी एक महिनाअघि नै गुरु पूर्णिमा परेको जनाउँदै त्यसैका आधारमा आजकै दिन गुरुहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष प्राडा जयन्त आर्चायले गरेका थिए । कार्यक्रममा काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष सुमन श्रेष्ठ, प्राडा मोहनप्रसाद तिमिल्सिना, सूर्यनाथ पन्त, नारायणप्रसाद नेपाललगायतले मन्तव्य व्यक्त गर्दै गुरुको योगदानको मूल्यांकन गर्दै त्यसको सम्मान गरिनु पर्नेमा जोड दिएका थिए।











प्रतिक्रिया