काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले लगानीमैत्री वातावरण सिर्जना गर्न र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेखनीय सुधार गरेको बताउनुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी ११३औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सोमबार रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै उहाँले नेपालमा पछिल्ला कानुनी तथा नीतिगत सुधारबारे विश्व समुदायलाई जानकारी गराउनुभयो ।
विश्वका १८७ देशका सरकार, रोजगारदाता तथा ट्रेड युनियन प्रतिनिधिहरू सहभागी उक्त सम्मेलनमा अध्यक्ष ढकालले नेपालमा विदेशी लगानी भित्र्याउन सहज बनाउन करिब ३० वटा कानुनमा संशोधन गरिएको जानकारी गराउनुभयो । साथै, द्विपक्षीय लगानी सम्झौताका प्रारूपहरू पनि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘नेपाल अब अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ,’ अध्यक्ष ढकालले भन्नुभयो –‘भारत र चीनसँगको व्यापारिक सम्बन्धका कारण नेपाली उत्पादनले अझै पनि भन्सार सुविधा पाउने भएकाले नेपालमा लगानीका थप अवसरहरू खुला छन् ।’
उहाँले नेपालको भौगोलिक विविधता, कृषियोग्य जमिन, जलविद्युत् र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई ती क्षेत्रमा अवसर खोज्न आग्रहसमेत गर्नुभयो ।अध्यक्ष ढकालले अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले लिएको नवीनतम् रणनीतिको पनि चर्चा गर्दै, यसप्रति अन्तर्राष्ट्रिय श्रम संगठनले नेपाल, जिम्बाव्वे, कोट डि भ्वार, युरुग्वे र नामिबियाको प्रशंसा गर्दै विशेष प्रतिवेदन सार्वजनिक गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
नेपालमा औपचारिक अर्थतन्त्र प्रवद्र्धन गर्न महासंघ, ट्रेड युनियन र सरकारले संयुक्त समिति बनाएर काम गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । जलवायु परिवर्तनका सन्दर्भमा पनि अध्यक्ष ढकालले नेपालको योगदान न्यून भए तापनि असर गहिरो रहेको उल्लेख गर्दै, “हिमालय क्षेत्रको संरक्षण र जलवायु सहनशीलता प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय बजार पहुँच, वित्तीय सहायता र विकास सहायतामा विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता छ,” भन्नेमा उहाँले जोड दिनुभयो ।











प्रतिक्रिया