काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै देशको भन्सार प्रणाली थप पारदर्शी, विश्वासिलो र अन्तर्राष्ट्रिय व्यापारमैत्री बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।सोमबारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजश्व चुहावट नियन्त्रण गर्ने कार्यमा विधेयकले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।
उहाँले भन्नुभयो –‘भन्सार सम्बन्धी विद्यमान कानुनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथ यो विधेयक अघि बढाइएको हो । यस विधेयकका उपर विज्ञ र विशेषज्ञहरूसँग व्यापक छलफल गरिएको छ । साथै, अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेट्ने प्रयास गरिएको छ ।’
अर्थमन्त्री पौडेलका अनुसार, विधेयक कार्यान्वयनमा आएपछि भन्सार प्रशासनमा देखिएको अव्यवस्था घट्ने, राजस्व परिचालन थप प्रभावकारी हुने र अनियमितता नियन्त्रण हुने विश्वास गरिएको छ ।यसैबीच पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको सो बिधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा सांसदहरूले छलफल गरी प्रश्नसमेत गरेका थिए ।
मन्त्री दाहालले छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने बताउनुभयो ।कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिनेसमेत उहाँको दाबी छ ।











प्रतिक्रिया