भन्सार विधेयक २०८० राष्ट्रिय सभाबाट सर्वसम्मत पारित


काठमाडौँ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको भन्सार विधेयक २०८० राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावमा सांसदहरूले सर्वसम्मत समर्थन जनाएका हुन्।

राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री पौडेलले विधेयक कार्यान्वयनमा गएपछि भन्सार प्रशासन र राजस्व परिचालनमा देखिएका धेरैजसो समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले यो विधेयकले व्यापार सहजता, राजस्व प्रणालीको आधुनिकीकरण, तथा पारदर्शिता सुनिश्चित गर्ने पक्षमा महत्वपूर्ण योगदान दिने बताए।

अर्थमन्त्री पौडेलले भन्सार व्यवस्थामा देखिएका जटिलता, ढिलासुस्ती, अनियमितता तथा प्रविधिको अभाव लगायतका समस्यालाई विधेयकमार्फत समाधान गर्ने प्रयास गरिएको उल्लेख गरे।

विधेयक पारित भएसँगै अब कार्यान्वयन प्रक्रियामा तीव्रता ल्याउने तयारी भइरहेको जनाइएको छ।