नवलपरासी पूर्वमा ट्राफिक सप्ताह २०८२ आरम्भ

4.04k
Shares

नवलपरासी। 

जिल्ला ट्राफिक कार्यालय नवलपरासी पूर्वले आइतबार विविध कार्यक्रमसहित ट्राफिक सप्ताह २०८२ को शुभारम्भ गरेको छ ।

जिम्मेवार चालक म, जिम्मेवार यात्रु म सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी भन्ने मूल मन्त्रका साथ सदरमुकाम कावासोतीमा प्रभातफरी गरि कार्यक्रमको शुभारम्भ गरिएको हो ।

प्रमुख अतिथि, प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले मूल व्यानर वाचन गर्दैे पूर्व पश्चिम राज मार्गमा सञ्चालित यात्रु बसमा सडक सुरक्षा सम्वन्धी स्टिकर तथा व्यानर टासेर ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीको समन्वय तथा कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालको अध्यक्षता रहेको ट्राफिक सप्ताह शुभारम्भ कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरीक्षक जनकराज बञ्जराले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै समग्र जिल्लाको ट्राफिक व्यवस्थाका बारेमा जानकारी दिए ।

उनले ट्राफिक सप्ताहलाई सूचना र सचेतना सम्बन्धि कार्यक्रमका रूपमा मात्र नलिई सबैले यसलाई प्रचलित ट्राफिक नियमको पालना र आफ्नै निम्ति सडक सुरक्षा प्रतिबद्धता ठानेर अघि बढ्न अनुरोध गरे ।

यस आर्थिक वर्षको हालको अवधि सम्म जिल्लामा भएका ९९ दूर्घटनामा परेर ३९ जनाको अकालमा ज्यान गएको र १ सय ३६ जना घाईते भएको जानकारी बञ्जराले दिएका थिए ।

सोही अवसरमा बन्जराले गत वर्ष नवलपरासी बर्दघाट सुस्ता पूर्वमा भएका १ सय ३५ दूर्घटनामा परेर ४६ जनाको मृत्यु हुनाका साथै १ सय ५७ जना घाईते भएको तथ्यांक प्रस्तुत गरेका थिए ।

सडक दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले यसै आवमा मात्रै पनि ३ हजार ५ सय २० जनचेतना मूलक कार्यक्रम गरेको र जसबाट २ लाख ४९ हजार ५ सय ६५ जना मानिस लाभान्वित भएको बताइएको छ ।

त्यसै गरि कानुन पालनाका सम्बन्धमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी तथा चालक माथि गरिएको कार्यवाहीबाट यस आवमा २ करोड ३३ लाख ५१ हजार ५ सय र गत आवमा २ करोड ८७ लाख ५४ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक बञ्जराले बताए ।

बञ्जराका अनुसार गत वर्ष ३४ हजार २ सय ३५ तथा चालू आवमा २९ हजार ६ सय ३१ सवारी कार्यवाहीमा परेको र जस मध्ये केहीलाई थप कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको हो ।

सडक दूर्घटना न्यूनीकरणको लक्ष्य सहित मनाउन लागिएको ट्राफिक सप्ताह

शुभारम्भ समारोहमा प्रहरी निरीक्षक बञ्जराले ट्राफिक सप्ताह अन्तर्गत जेठ २५ देखि ३१ गते सम्म गरिने कार्यक्रममा सिट क्षमता अनुगमन तथा स्टिकर टास्ने, पर्चा पम्प्लेट तथा मास्क वितरण,अव्यवस्थित पार्किङ हटाउने,सर्वसाधारणलाई बाटो काट्न सिकाउने लगायतका गतिविधि गरिने बताए ।

त्यसै गरि ग्रामीण सडक लक्षित कार्यक्रममा छत एवं हुटको प्रयोग निरूत्साहन, सिट क्षमता,भाडा दर अनुगमन तथा आरक्षण सिटको कार्यान्वयन र पहाडी एवं उकालो बाटोमा ओटको प्रयोग सम्वन्धी अभ्यास गरि ट्राफिक सप्ताहको तेश्रो दिनको कार्यक्रम मनाईने भएको छ ।

त्यस्तै बिद्यालय र व्यस्त क्षेत्र वरपर पर्चा वितरण, विभिन्न विद्यालयका विद्यार्थी बीच ट्राफिक सुरक्षा सम्बन्धीु क्वीज कार्यक्रम,स्वास्थ्य संघ संस्थाको समन्वयमा सवारी चालकका लागि ब्लडप्रेसर तथा श्रवण शक्तिको चेकजाँच, सवारी साधनका अस्पष्ट नम्वर प्लेट सुधार जस्ता कार्यक्रम समावेश गरिएको छ ।

यसरी नै सातौं दिन ट्राफिक तथा सम्बद्ध निकाय र संचारकर्मी बीचको अन्तर्क्रिया गरि साँझ दीप प्रज्वलन गरेर ट्राफिक सप्ताह २०८२ को समापन गरिने जनाइएको छ ।

कार्यक्रममा लेकबेसी यातायात व्यवसायी संघका अध्यक्ष युवराज बस्याल,संचारकर्मी नारायण शर्मा,कावासोती नगरपालिका प्रवक्ता डोरमान गिरी लगायतले ट्राफिक सप्ताह सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीय जनप्रतिनिधि, सहायक प्रजिअ,जिल्ला स्थित सुरक्षा अङ्गका प्रमुखहरू, यातायात व्यवसायी,विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी,आमसंचारकर्मी तथा ट्राफिक,जनपद एवं सशस्त्रवलका सुरक्षाकर्मीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

जिल्ला ट्राफिक कार्यालय नवलपरासी पूर्वका प्रहरी सहायक निरीक्षक कृष्ण पोख्रेलको संचालन रहेको ट्राफिक सप्ताह शुभारम्भ कार्यक्रममा नेपाल प्रहरी विद्यालय भरतपुर तथा गण्डकी बोर्डिङ स्कुल कावासोती लगायतका विद्यार्थीहरूले गीत,नृत्य तथा कविता सहित आआफ्ना कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला स्थित कुशल सवारी चालक,बस तथा अटो रिक्सा ड्राइभर कावासोती निवासी जित बहादुर डिसुवा र भीम प्रसाद काफ्लेलाई प्रमुख अतिथि प्रजिअ पाण्डे र जिल्ला प्रहरी प्रमुख ढकालले प्रशंसा पत्र सहित सम्मान गरेका थिए ।