दोलखा।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसंग प्रतिशोध नसाधेको बताएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाउन एमालेको भूमिका रहेको आरोप लगाउने गरेको प्रसङ्गमा उपमहासचिव ज्ञवालीले आफ्नो पार्टीले कसैलाई पनि पूर्वाग्रह नराख्ने बताएका हुन् ।
नेकपा एमाले दोलखाले आयोजना गरेको जनप्रतिनिधि र पार्टी बीचको अन्तरसंवाद कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले वर्तमान सत्ता गठबन्धन २०८४ सम्मै जाने बताए। उनले सत्ता साझेदार बीच कुनै असमझदारी नरहेकोले सरकार नढल्ने दाबी गरे ।
नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङ, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव स्वयम बहादुर खड्का, जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, मेलुङ गाँउपालिकाका अध्यक्ष हिराकुमार थोकर, शैलुङ गाँउपालिकाका उपाध्यक्ष पार्वती कार्की, गौरीशङ्कर गाँउपालिकाका उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पा, भीमेश्वर नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष नविन लामा, विगु गाउँपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष टहल थामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरुले सम्बन्धित पालिकाहरुको स्थानीय तहको निर्वाचन यता पालिकामा भएका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको एमाले दोलखाका उपसचिव हरि ओलीले बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्थानीय विकास विभागका सदस्य विमल पोखरेलले स्थानीय निकायको कामको बारेमा जानकारी गराएका थिए ।











प्रतिक्रिया