काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा बकर इद ले आपसी विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
मुस्लिम समुदायको महान् पर्व इद दल अज्हा बकर इद को पावन अवसरमा शनिबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेका हुन् ।
मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद उल अज्हाको नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।
राष्ट्रपति पौडेलले भन्नुभएको छ, “विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवम् सहअस्तित्वका आधारमा आ–आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु ।”
राष्ट्रपति पौडेलले इद उल अज्हा बकर इद को माध्यमबाट सबै नेपालीबिच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।











प्रतिक्रिया