तपाईंको श्वास नै सबैभन्दा शक्तिशाली चिज हो

7.71k
Shares

हामी सबैले ‘अहिले’को समयमा जिउनुपर्छ भन्ने कुरा सुनेकै हौँला । अङ्ग्रेजी भाषामा यसलाई ‘प्रेजेन्ट’ भनिन्छ अनि उपहारलाई पनि ‘प्रेजेन्ट’ भनिन्छ । ‘प्रेजेन्ट’ त ‘प्रेजेन्ट’ हो, उपहार हो । वर्तमानमा जिउने विद्या के हो ! हाम्रो मन (दिमाग) वर्तमानमा रहिरहन त सक्दैन । कहिले यता दगुर्छ, कहिले उता दगुर्छ ।

तपाईँ किन वर्तमानमा रहन चाहनुहुन्छ ! मैले भनेका कारणले हो र ! वर्तमानमा रहन सहज हुँदैन । वास्तवमा मनको नियन्त्रणमा रहनेहरू वर्तमानमा रहन सक्दैनन् । यति भएर पनि तपाईँभित्र एउटा चिज चलायमान छ र त्यो सबैभन्दा शक्तिशाली चिज हो । त्यो चिज हो तपाईँको श्वास । न त तपाईँले गइसकेको श्वासलाई फर्काउन सक्नुहुन्छ, न तपाईँ त्यो आउनेवाला श्वासलाई अगाडि नै लिन सक्नुहुन्छ ।

तपाईँ केवल चलिरहेको श्वासलाई मात्रै लिन सक्नुहुन्छ । यो सारा सृष्टिलाई सञ्चालन गर्ने त्यो शक्ति यस श्वासमा पनि निहित छ । तपाईँ घुम्नका लागि कतै जानुहुन्छ । किन ? किनभने, यो श्वास चलिरहेको छ । यदि यो श्वासै चलेको छैन अनि कसैले तपाईँलाई इटाली लिएर गयो र तपाईँलाई पिज्जा खुवायो भने के तपाईँ त्यो चिज खान सक्नुहुन्छ र ?

प्रसङगवश यहाँ एउटा छोटो कथा उल्लेख गरिन्छ ।
एकजना गरिब मानिस थिए । उनी निकै विपन्न थिए । एकदिन उनले राजाकहाँ आएर बिन्ती बिसाए, ‘कृपया मलाई कुनै नोकरी दिनुहोस् । म एकदमै गरिब छु ।’ राजाले भने, ‘ठिक्कै छ नि त ! तपाईँ आउनुहोस् ।’ उनलाई एउटा जागिर दिए ।
यसपछि उनले एकदमै लगनसाथ काम गरे । हरेक दिन उनी काम गर्थे । उनीसँग सबै खुशी थिए । राजा पनि खुशी थिए । उनी एकदमै राम्रोसँग काम गर्ने गर्थे ।

बिस्तारै–बिस्तारै उनको उन्नति हुन थाल्यो । उनको उन्नति हुँदै जाँदा उनलाई महलको माथि एउटा कोठा दिइयो । उनी हरेक दिन त्यस कोठामा जान्थे, तीन–चार घण्टा बिताउँथे अनि फर्केर आएपछि आफ्नो काम गर्ने गर्थे । यसरी नै उनको हरेक साल बित्दै गएको देखेर मानिसहरूलाई ईष्र्या लाग्न थाल्यो । किनभने उनी राजाको नजिकका मान्छे भइसकेका थिए । राजा त उनीसँग एकदमै खुशी थिए । यो देखेपछि ‘त्यसले तपाईँबाट चोरी गर्ने गर्छ’ भनेर उनीहरूले राजाको कान फुक्न थाले । ‘त्यसैले ऊ आफ्नो कोठामा गएर घण्टौँ समय बिताउने गर्छ । ऊ आफ्नो पैसा गन्न जान्छ ।’ यति भरपर्दो मानिसले यस्तो गर्छ भनेर राजालाई विश्वासै लागिरहेको थिएन ।

एकदिन राजाले उनको पिछा गरे । जसै उनी आफ्नो कोठामा पसे, राजा पनि उनको पछिपछि गए । राजाले उनको पलङमुनि एउटा ठूलो बाकस राखेको देखे । राजालाई पनि यसले पक्कै पनि मबाट चोरी गरिरहेको रहेछ भन्ने लाग्यो ।
राजाले ती मानिसलाई भने, ‘यो बाकस खोल्नुहोस् । यसमा भएको कुरा म हेर्न चाहन्छु !’ उनले भने, ‘महाराज तपाईँ के हेर्नुहुन्छ ! यो हजुरले हेर्नलायक चिज होइन ।’

यति भनेपछि त राजालाई झनै यसले आपूmबाट चोरी गरेकै हुनुपर्छ भन्ने लाग्न थाल्यो । त्यसपछि राजाले आफैँ त्यो बाकस निकाले र त्यसलाई खोले । त्यो बाकस खोलेपछि राजा छक्क परे । त्यसमा फाटेका थोत्रा, पुराना कपडा राखिएको थियो । राजाले भने, ‘यो के हो ?’

ती मानिसले भने, ‘महाराज, म पहिलो दिन हजुरको दरबारमा आउँदा यही कपडामा आएको थिएँ । म यो कपडालाई हरेक दिन नियाल्छु । किनभने मलाई म कहाँ थिएँ भन्ने कुराको ज्ञान हुन्छ । अनि, म को थिएँ र तपाईँको सहयोगका कारण म कहाँ पुगेको छु भनेर यो कपडाले मलाई स्मरण गराउँछ ।’

यसर्थ आफ्नो जीवनलाई खेर नफाल्नुहोस् । तपाईँले खोज्नुभएको चिज तपाईँभित्रै छ । जान्नुहोस्, पहिचान गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल तुल्याउनुहोस् । यो जीवन फेरि पाइँदैन । आनन्द लिनुहोस् । किनभने सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईँले यो मौका पाउनुभएको छ । यो कुरालाई स्मरण गर्नुहोस् । तपाईँ ९० या ९९ वर्षकै भए पनि केही फरक पर्दैन । तपाईँभित्र यो श्वासको आवागमन भएसम्म तपाईँका लागि सबैथोक उपलब्ध छ ।

‘आज’ आउँछ र गइहाल्छ । तर, ‘भोलि’ का लागि जुन आशा साँचेका हुन्छौँ, त्यो कहिल्यै पनि आउँदैन । भोलि जहिल्यै पनि भोलि नै हुन्छ । कहिल्यै ‘आज’ बन्न सक्दैन । तपाईँ कुन समयमा जीवित हुनुहुन्छ ? भोलि या हिजोमा ? तपाईँ आज जीवित हुनुहुन्छ । यस समयमा जीवित हुनुहुन्छ । तपाईँ न एक सेकेन्डअघि, न एक सकेन्डपछि नै जान सक्नुहुन्छ । यो तपाईँको जीवन हो । यही समयमा अटुट शान्ति छ । जुन शान्ति तपाईँलाई बाहिर होइन, तपाईँभित्रै प्राप्त हुन्छ ।

कुनै काम तुरुन्त गर्ने तथा कुनै काम भोलिका लागि छोड्ने मानिसको बानी हुन्छ । प्रश्न के उठ्छ भने, मानिसले कस्तो प्रकृतिको काम तत्कालै गर्दछ र कस्तो खालको कामलाई भविष्यका लागि छोडिदिन्छ ? प्रायजसो बाहिरबाट हेर्दा त्यति मत्त्वपूर्ण नलाग्ने कामलाई भोलिका लागि छोड्ने गरिन्छ ।

मानिसले के–के भौतिक उपलब्धिहरू हासिल गरेको छ भन्ने आधारमा आफ्नो दिनको सफलताको मूल्याङ्कन गर्ने गर्दछ । विचारणीय पक्ष के छ भने, भौतिक सुखको प्राप्तिका लागि मात्र ऊ रातदिन लागिरहेको छ । तर, ‘उसलाई यो जीवन किन प्राप्त भएको छ ? उसको जीवनको उद्देश्य के हो त ?’

एकापट्टि संसारका सबै जिम्मेवारीहरू छन् र अर्काेतिर तपाईँको आफ्नो जीवन छ ! जुन जीवन तपाईँलाई दिइएको छ, त्यो तपाईँका लागि हो । यदि तपाईँले यो कुरालाई स्वीकार गर्नुहुन्छ भने प्रश्न यो पनि उठ्दछ– जुन चिज तपाईँलाई प्राप्त भएको छ, त्यसलाई आजसम्म सदुपयोग गर्ने कोशिश गर्नुभएको छ कि छैन ?

तपाईँ जीवित हुनुहन्छ । तपाईँको जीवनमा जे भइरहेको छ र जे पछि होला, ती सबै अहिलेको रूपमा नै भइरहेका छन् । तर, मानिसहरूको ध्यान पूर्वजन्म र पछिको जन्मतिर जान्छ । जीवनमा के भएको थियो या पछि के हुनेछ भन्नेतिर जान्छ । यदि तपाईँले रेलमा यात्रा गर्नुपर्‍यो र तपाईँसँग टिकट छ– तपाईँले स्टेसनमा गएर ‘पहिलाको रेल कहाँ गएको थियो’ र ‘अब आउने कता जान्छ’ भनेर सोध्नु आवश्यक हुन्छ र ? होइन ! तपाईँ त यो सोध्नुहुन्छ, ‘ऊ त्यो रेल कता जान्छ ?’ ठीक त्यसै गरी यो श्वास तपाईँभित्र आउँछ र जान्छ । यो सृष्टिकर्ताको कृपाका कारण नै आउँछ । तर, कसैको पनि ध्यान यो श्वासतिर जाँदैन । यो आइरहन्छ अनि गइरहन्छ । यो श्वास जान्छ अनि जब आउँदैन नि, तब मात्र मानिसको ध्यान यसतर्फ जान थाल्छ । त्यस बेला एउटै कुराको मात्र चिन्ता हुन्छ– कसरी अर्को एउटा श्वास लिन सकूँँ !

पानीको अभाव नहुँदा मानिसहरूले पानी खेर फाल्छन् । तर पानीको अभाव भएपछि कसैले पनि पानीलाई खेर फाल्दैनन् । तपाईँको श्वास पनि त्यस्तै छ । एकदिन आएका थियौँ । त्यस दिन पहिलो श्वास आएको थियो । एकदिन जानुपर्छ । त्यो अन्तिम श्वास हुनेछ । यसको बीचमा छ– आजको दिन ! संसारका सबै कार्यलाई पूरा गर्नका लागि हामी आजको दिनलाई उपयोग गर्दछौँ । यो अनमोल श्वास प्राप्त भएको त छ तर यसलाई हामी ध्यान दिँदैनौँ । किनभने, व्यापार राम्रो भएको र राम्रो जागिर प्राप्त भएको दिनलाई मात्रै हामी राम्रो मान्दछौँ । वास्तवमा सबैभन्दा राम्रो दिन त त्यो हो, जुन दिन तपाईँ भन्नुहुन्छ– ‘आजको दिन मैले यो जीवनलाई पाएको छु । मेरो श्वास चलिरहेको छ । म जीवित छु । मैले यो मौका पाएँ । अब म यसलाई गुमाउन चाहन्न । आज मैले त्यो कुरालाई बुझे, जसको चर्चा सबै महापुरुषले आफ्नो जीवनभरि गर्दै आएका छन् ।’

यो कुरालाई बुझेको दिनदेखि यो जीवन व्यर्थ जाँदैन । त्यो दिन तपाईँ आफ्नो हृदयरूपी भाँडोलाई खेर गइरहेको पानीको धारामुनि राखिदिनुहुन्छ । त्यो पानी बच्नेछ । जिन्दगी सुध्रिनेछ । त्यो चिज पाइनेछ, जसबाट हामी आफ्नो जीवनलाई पूर्ण बनाउन सक्छौँ । प्रत्येक दिन हृदयबाट आभारी भएर भन्न सक्छौँ– ‘हे सृष्टिकर्ता, तपाईँलाई लाखौँलाख धन्यवाद छ !’ अनि, यो भन्नुहुनेछ, ‘आजको दिन नै मेरो पहिलो दिन हो । भोलि फेरि यो दिन आयो भने म त्यसलाई खेर जान दिन्न ।’ यसरी नै हामीले हरेक दिनलाई स्वागत गर्नुपर्नेछ । भोलिलाई होइन । न त हिजोलाई नै । बरु आजलाई सधैँका लागि स्वागत गर्नुपर्नेछ ! किनभने, जीवनमा जति पनि दिनहरू आउँछन्, ती सबै ‘आज’ को रूपमा नै आउँछन् । तपाईँ भोलिभित्र वा पर्सिभित्र प्रवेश गर्नुपर्छ भन्ने पनि होइन । प्रवेश गर्नुपर्दैन ! यो त स्वतः आउँछ र आजान्छ । यसमा तपाईँका लागि के लुकेको हुन्छ ? त्यो हरेक श्वासको आउनु–जानुमा अनि हरेक ‘आज’ को आगमन र प्रस्थानभित्र तपाईँको ‘आनन्द’ लुकेको छ । तपाईँको जीवनको आनन्द । तपाईँको हृदयको आनन्द । त्यो सुख, सन्तुष्टि, आनन्द, जुन शङ्काबाट पर, दुःखबाट पर– जहाँ अँध्यारो हैन, प्रकाशै प्रकाश छ ! जहाँ प्रश्न, हैन उत्तरै उत्तर छ ।

अहिले हामीसँग समय छ । त्यसैले हामी भोलिलाई सुधार्ने कुरामा भन्दा आजलाई ध्यानदिऊँ । आज नै आफ्नो हृदयलाई शान्ति र आनन्दले भरौँ । भोलि आउँछ कि आउँदैन भन्ने कुरामा हामीले चिन्ता गर्नु आवश्यक छैन । यदि भोलि आयो भने त्यसलाई पनि आजलाई जस्तै स्वागत गर्नेछु । ताकि मेरो हृदय दिन–प्रतिदिन भरिँदै जाओस् र मेरो जीवन सफल होस् । त्यसैले भोलिमा होइन आजमा जिउन शुरु गरौँ । गएको वा आउने समयलाई होइन, आजसँग रहेर जिउन शुरु गरौँ । आजको महत्त्वलाई बुझौँ । ‘आज’ के हो, ‘आजको दिन’ के हो भन्ने कुरा तपाईँले बुझ्नुभएपछि तपाईँले भोलिको आशालाई छोड्नुहुनेछ । अनि, आफ्नो आशालाई ‘आज’ नै पूरा गर्ने कोशिशमा लाग्नुहुनेछ । किनभने, भोलिमा जति पनि आशा हुन्छ, त्यति नै निराशा पनि रहेको हुन्छ । ‘आज’मा जति आशा गरिएको हुन्छ, त्यसलाई पूरा गर्न सकिन्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल थप जानकारीका लागि www.premrawat.com) ।