नेपाली बजारमा आँपको सिजन शुरु भएको छ । आँप गर्मीको सबैभन्दा मनपर्ने फलफूलमध्ये एक हो । गर्मीको मौसम छ र यस समयमा देशमा आँपको खपत बढ्छ । बजारमा धेरै प्रकारका आँप उपलब्ध छन् । धेरै मानिसले आँपलाई स्वाद मानेर खान्छन् ।
यो स्वादिष्ट मात्र नभई स्वास्थ्यको लागि पनि फाइदाजनक मानिन्छ । आजभोलि बजारमा विभिन्न प्रकारका आँप बिक्री भइरहेका छन् । यी पहेँला–हरिया आँपप्रति आकर्षित नहुने शायदै कोही होला । वास्तवमा, गर्मी सिजनमा यो रसिलो फलको माग दिनप्रतिदिन बढ्न थाल्छ ।
प्रायः बजार रंगीन फलफूलले भरिएको हुन्छ । यतिखेर आँपको सिजन भएकाले आँपका रंगहरूले तपाईंलाई धेरै आकर्षित गर्न सक्छ । फलफूल भनेको हामीलाई स्वस्थ बनाउने खाद्यवस्तु हो तर अहिले त्यही फलफूल रोग र मृत्युको कारण बन्दै गएको छ ।
विज्ञहरूको चेतावनीअनुसार बजारमा बिक्री भइरहेका आँप, केरा, स्याउजस्ता फलफूलमा खतरनाक रसायन मिसाइने गरेको पाइन्छ । वास्तवमा, बजारमा बिक्री भइरहेका फलफूललाई छिटो पाक्न र तुरुन्तै बजारमा ल्याउन क्याल्सियम कार्बाइड प्रयोग गरी पकाइने गरिन्छ । यसले फलहरू केही घण्टामै पाक्छन् र गुलिया हुन्छन् ।
तर के तपाईंलाई थाहा छ ? खाऊँ–खाऊँ लाग्ने र सुन्दर देखिने यस्तो आँपले तपाईंलाई बिरामी बनाउन सक्छ । किनकि आँपको बढ्दो मागका कारण केही मानिसले यसलाई छिटो पाक्नका लागि रसायनको सहारा लिन्छन् । फलफूललाई कृत्रिम तरिकाले पकाउने धेरै विकल्प छन् । यदि तपाईं ग्रामीण क्षेत्रबाट आउनुभएको छ भने, शायद बाल्यकालमा तपाईंले आँपजस्ता फलफूललाई परालको थुप्रोमा राखेर पकाउनुभएको हुनुपर्छ ।
तर आजकल फलफूलको ठूलो मात्रा पाकाउन सामान्यतया रसायन नै प्रयोग गर्ने गरिएको छ । यीमध्ये केही धेरै खतरनाक छन्, जसले घातक रोगहरू पनि निम्त्याउन सक्छन् ।विशेष गरी यसका लागि क्याल्सियम कार्बाइडजस्ता खतरनाक रसायनहरू प्रयोग गरिन्छ, जुन स्वास्थ्यको लागि धेरै हानिकारक छ ।
पछिल्ला केही वर्षहरूमा, क्याल्सियम कार्बाइड आँपजस्ता फलफूललाई कृत्रिमरूपमा पकाउने सजिलो तरिका बनेको छ । फलफूललाई बगैँचाबाट बजारमा ढुवानी गर्दा यो रसायन मिसाइन्छ, जसले गर्दा फलफूलबाट निस्कने एसिटिलिन ग्यासको कारणले फल छिटो पाक्छ ।
क्याल्सियम कार्बाइड एक धेरै विषाक्त पदार्थ हो, जसले छालाको जलन, श्वासप्रश्वास समस्या र क्यान्सरसमेत धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ । रिसर्च गेटले गरेको एक अध्ययनले आँप पाक्न क्याल्सियम कार्बाइड छर्कंदा आँपको गुणस्तरमा असर पर्ने देखाएको छ । यसले आँपको पीएच ठोस पदार्थहरूमा परिवर्तन ल्याउँछ । भिटामिन सीको मात्रामा पनि नकारात्मक परिवर्तन देखिन्छ ।
क्याल्सियम कार्बाइडले एसिटिलिन नामक ग्यास उत्पादन गर्छ, जुन आँप पाक्दा प्राकृतिकरूपमा उत्पादन हुने रासायनिक इथाइलिनभन्दा फरक हुन्छ । वेल्डिङ व्यवसायमा एसिटिलिन इन्धनको रूपमा प्रयोग गरिन्छ । जब क्याल्सियम कार्बाइडबाट एसिटिलिन उत्पादन गरिन्छ, यसमा धेरै विषाक्त अशुद्धताहरू हुन्छन्, जसले मानव शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ ।
एसिटिलिन एक ग्यास हो, जसले सास फेर्ने हावामा अक्सिजनको मात्रा घटाउँछ । यसको अत्यधिक मात्राले शरीरका कोषहरूमा अक्सिजनको कमी हुन्छ, जसका कारण धेरैपटक मानिसहरू अचानक चक्कर लाग्ने वा नर्भस महसुस गर्ने गुनासो गर्छन् । यो ग्यासका कारण टाउको दुख्ने, थकान हुने, निद्रा नलाग्ने, मानसिक तनाव र स्मरणशक्तिमा कमी आउने समस्या पनि देखिएको छ ।
केही अध्ययनहरूले क्याल्सियम कार्बाइडको प्रयोगका कारण क्यान्सरको जोखिम पनि हुने बताएका छन् । यस्तो अवस्थामा, के क्याल्सियम कार्बाइडले साँच्चै क्यान्सर निम्त्याउँछ त ? जब क्याल्सियम कार्बाइड ओसिलोपनको सम्पर्कमा आउँछ, त्यसबाट एसिटिलिन ग्यास निस्कन थाल्छ । यो ग्यासमा आर्सेनिक र फस्फोरसजस्ता खतरनाक तत्वहरू हुन्छन् ।
आर्सेनिक स्पष्टरूपमा क्यान्सरजन्य हो । त्यसैले यसबाट क्यान्सर हुने जोखिम हुन्छ । यस्तो अवस्थामा क्याल्सियम कार्बाइड प्रयोग नगर्नु नै राम्रो हुन्छ । यदि तपाईंले कतैबाट आँप किन्नुहुन्छ र त्यसमा क्याल्सियम कार्बाइड प्रयोग गरेको रहेछ भने तपाईंलाई क्यान्सर हुँदैन भन्न सकिँदैन । तर एक वा दुईपटक त्यो आँप खाँदा क्यान्सर हुँदैन, वर्षौं लाग्छ । त्यसैले धेरै आत्तिनु भने पर्दैन ।
एसिटिलिन र क्याल्सियम कार्बाइडको लामो समयसम्म सम्पर्कमा रहँदा आँखा रातो हुने, जल्ने र चिलाउने समस्या हुन सक्छ । आँपको बक्सा खोल्दा छालामा चिलाउने, रातो हुने र जलन हुने कारण क्याल्सियम कार्बाइड हो । आँपको बट्टामा एसिटिलिन ग्यास भरिन्छ, यसलाई खोल्नेबित्तिकै यो ग्यास साससँगै शरीरमा प्रवेश गर्छ र मुख, नाक, घाँटी एवं फोक्सोमा द्रुत असर गर्छ । यसले तुरुन्तै खोकी लाग्न थाल्छ । कहिलेकाहीँ सास फेर्न गाह्रो हुन्छ ।
सामान्यतया क्याल्सियम कार्बाइड कारखानाहरूमा प्रयोग हुने रसायन हो । कतिपयले फलफूल छिटो पकाउन अवैधरूपमा यसको प्रयोग गर्छन् । यस्ता फलहरू बाहिरबाट पाकेका देखिन्छन् तर भित्रबाट काँचै रहन पनि सक्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यही कारणले गर्दा सरकारले फलफूल पकाउन क्याल्सियम कार्बाइडको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
क्याल्सियम कार्बाइड प्रयोग गरेर पाकेको आँपमा प्राकृतिक गुलियोपन र पोषण कम हुन्छ । यसले पाचन प्रणालीलाई पनि असर गर्छ । यस्तो आँप खाँदा ग्यास, एसिडिटी, कलेजोको विकारजस्ता समस्या हुन सक्छ । यस्तो आँप विशेष गरी बालबालिका, वृद्धवृद्धा र गर्भवतीहरूका लागि झनै खतरनाक हुन सक्छ । त्यसैले आँप खाँदा सचेत हुनु जरुरी छ ।
रसायन प्रयोग भएको कसरी पहिचान गर्ने ?
गर्मीमा बजार रंगीन आँपले भरिएको हुन्छ । आँपको स्वाद, रंग, सुगन्ध र बनावटबाट तपाईं धेरै हदसम्म भन्न सक्नुहुन्छ कि यो प्राकृतिकरूपमा पाकेको हो वा रासायनिकरूपमा । आँपलाई पानीले भरिएको बाल्टिनमा राख्नुहोस्, यदि आँप तैरिन थाल्यो भने मान्नुहोस् कि सो आँप रसायनको मद्दतले पाकेको हो । यसबाहेक, आफ्नो हातमा आँप उठाउनुहोस् । तपाईंले आँपको बाहिरी छालामा हल्का चाउरीपना देख्नुहुनेछ । सामान्यतया मानिसहरू आँपमा चाउरी परेको छ भने त्यो प्राकृतिकरूपमा पाकेको हुन्छ भन्ने विश्वास गर्छन्, तर यो सत्य होइन ।
यदि आँप हल्का हरियो रंगको छ र चाउरी परेको देखिन्छ भने, यो निश्चित हुन्छ कि आँप रूखमा पाक्नुअघि नै टिपिएको हो र रसायनको मद्दतले पाकाइएको हो । आँपमा हल्का हरियो पात वा दाग देखिनुले पनि यसलाई रसायनको मद्दतले पाकेको देखाउँछ, जबकि प्राकृतिकरूपमा पाकेको आँप हरियो भए पनि कुनै दाग देखिँदैन ।
पहिलो कुरा त रंगबाट पहिचान गर्नुस् । यदि आँप बाहिरबाट चम्किलो पहेँलो र भित्रबाट कडा छ भने, यो रसायन प्रयोग गरेर पाकेको हुन सक्छ । प्राकृतिक आँपको रंग अलि असमान हुन्छ । दोस्रो कुरा, गन्धमा ध्यान दिनुहोस् । प्राकृतिक आँपको गन्ध मीठो र ताजा हुन्छ, जबकि रासायनिकरूपमा पाकेको आँपमा या त गन्ध नहुन सक्छ वा थोरै तिखो गन्ध हुन सक्छ । अर्को कुरा, स्वादको भिन्नता बुझ्नुहोस् । रसायन प्रयोग गरेर पाकेको आँपको स्वाद नरम वा अनौठो हुन सक्छ । छोएर पनि केही पहिचान गर्न सकिन्छ । यदि आँप छोएपछि धेरै नरम वा कडा महसुस हुन्छ भने, यो रसायन प्रयोग गरेर पाकेको हुन सक्छ । आफूलाई आँप रसायन प्रयोग गरेर पकाएको भन्ने लागेमा त्यस्ता आँपहरू तुरुन्तै नखानुहोस् । केही दिन पानीमा भिजाएर सुती कपडाले सफा गर्नुहोस् । यसले गर्दा आँप क्याल्सियम कार्बाइडको प्रभावबाट मुक्त हुन्छ ।
आँप पकाउन कार्बाइड प्रयोग गरिएको छ कि छैन भनेर सजिलै पत्ता लगाउन कठिन छ । तर सरकारले नै प्रतिबन्ध लगाएकोले यसको सम्भावना कम छ । तैपनि, तपाईंले बजारबाट आँप ल्याउनुभयो भने, पानीले राम्ररी धोएर मात्र खानुहोस् । आँप खाएर तपाईंलाई कुनै प्रकारको समस्या आयो भने डाक्टरसँग परामर्श लिनुहोस् ।
शरीरलाई स्वस्थ राख्नको लागि, पौष्टिक र स्वस्थकर खाना खानु महत्वपूर्ण छ । स्वास्थ्य विज्ञहरू भन्छन्, ‘खाद्य पदार्थमा मिसावट बढ्दै गएको, धेरै प्रकारका रसायन र संरक्षकहरूको प्रयोग भइरहेकोले यसले स्वास्थ्यलाई धेरै हिसाबले गम्भीर क्षति पु¥याउन सक्छ ।’ हुन पनि खाद्य पदार्थमा हानिकारक रसायन मिसाउँदा वा उच्च गुणस्तरका सामग्रीहरूको सट्टा सस्तो विकल्प प्रयोग गर्दा धेरै प्रकारका रोगहरूको जोखिम बढ्न सक्छ । दूधदेखि चामलसम्म, फलफूलदेखि तरकारीसम्म विषादी प्रयोग गरिएको हुन सक्छ । यद्यपि पकाउने मसलामा पनि मिसावटसँगै यस्ता धेरै हानिकारक पदार्थ प्रयोग गरिएको पाइन्छ, जसले मृगौला, कलेजोलगायतका अंगहरूलाई गम्भीर क्षति पुर्याउन सक्छ ।
आजकल आँप हाम्रो स्वास्थ्यको लागि सबैभन्दा लाभदायक फलफूलमध्ये एक हो । यसलाई भिटामिन ए र सीसँगै फाइबर र प्रोटिनको राम्रो स्रोत मानिन्छ । तर आँप खाँदा सानो लापरबाहीले पनि धेरै गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यदि तपाईं पनि बजारबाट आँप किनेर खाँदै हुनुहुन्छ भने सावधान रहनुहोस्, तपाईंको अलिकति पनि लापरबाही शरीरको लागि धेरै हानिकारक हुन सक्छ ।
यदि तपाईंले कार्बाइडले पाकेका फलफूलहरू राम्ररी नधोई खानुभयो भने, विषाक्तताको जोखिम हुन्छ । शरीरमा यसको अत्यधिक मात्राले छालाको समस्या, मिर्गौला फेल हुने जोखिम बढाउन सक्छ । फलफूल उत्पादन उद्योगमा काम गर्ने कामदारहरू जो उच्च स्तरको क्याल्सियम कार्बाइडको सम्पर्कमा आउँछन्, उनीहरू गम्भीर स्वास्थ्य समस्याको उच्च जोखिममा हुन्छन् । यसले पल्मोनरी एडेमा (फोक्सोमा तरल पदार्थ जम्मा हुने), कार्डियाक अरेस्ट, कोलोन र प्रोस्टेट क्यान्सरजस्ता रोगहरूको जोखिम बढाउन सक्छ ।
फलफूल र तरकारीमा प्रयोग हुने हानिकारक रसायनबाट बच्न, ती वस्तु खानुभन्दा कम्तीमा आधा घण्टा पानीमा भिजाउनु र पानीले राम्ररी सफा गरेपछि मात्र सेवन गर्नु उचित हुन्छ । अर्गानिक चिजहरू सेवन गर्नुहोस् । सिजनविना उपलब्ध गराइएका र अप्राकृतिक तरिकाले तयार पारिएका वा पकाइएका खाद्य पदार्थहरूबाट बच्नुपर्छ ।











प्रतिक्रिया