काठमाडौं महानगरपालिकामा अनियमितताको ग्राफ बढेको छ । मेयर बालेन्द्र साहको सचिवालयका सल्लाहकारको मनोमानीको कारण अनियमितता बढेको हो । करिब तीन वर्षको अवधिमा मेयरका सल्लाहकारको गलत निर्णयको कारण कामपाका करिब दर्जन बढी कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुग्नुपरेको छ । सल्लाहकारले मेयरको हवाला दिँदै धम्क्याएर विभिन्न निर्णय गराएपछि कतिपय कर्मचारी फसेका छन् । मेयरका सल्लाहकारको हरेक काममा दाबाब बढेपछि अधिकांश कर्मचारी निराश छन् । सामाखुसीमा आफू निकटका ठेकेदारलाई ठेक्का दिनको लागि प्रतिस्पर्धी ठेकेदारलाई कालोसूचीमा हाल्न होस् वा एम्बुलेन्स खरिदमा अथवा फोहोर ढुवानी र संकलनको ठेक्कापट्टा, यस्ता सबै घटनामा मेयरका सल्लाहकार जोडिएका छन् । उनकै कारण अनियमितता बढ्न थालेको छ ।
अर्को घटनामा सल्लाहकारले लाखौँ रुपियाँ बराबरको अनियमितता गरेको आशंकामा सामुदायिक विद्यालयलाई वितरण गर्न खरिद गरिएको स्मार्ट बोर्ड थन्किएको छ । कामपाले बोर्डको भुक्तानी नदिएपछि कर्मचारीमाथि दबाब परेको छ । बोर्ड खरिद गर्दा अनियमितताको गन्ध आएपछि करिब ५ सय बोर्ड राजधानीको पद्मोदय माविको कोठामा थन्किएका छन् । मेयरका शिक्षा सल्लाहकारको कारण स्मार्ट बोर्डमा अनियमितता देखिएको छ । पछिल्लो उदाहरणको रुपमा मेयर साहका पूर्वाधार सल्लाहकार सुनील लम्सालले चढ्ने सवारीसाधनमा तीन वर्षमा २ हजार २ सय ८० लिटर पेट्रोल बुझेको घटनाले पुष्टि गरेको छ । वातावरणदेखि पूर्वाधार हुँदै मेयरस्तरीय अधिकांश निर्णयमा हस्तक्षेप गर्न खप्पिस लम्सालका कारण महानगर बदनाम भएको छ । यहाँसम्म कि सबै बोलपत्र कागजात समीक्षा गर्न मेयरकै सल्लाहकारको हाबी छ ।
समितिमा नियम विपरीत गठन गरिएको सो समितिमा शहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी, कानुन विभाग प्रमुख वसन्त आचार्य र खरिद इकाइ प्रमुख रामरतन साह राखिएको छ । सो समूको निर्णयपछि मात्र सामान खरिद गर्ने वा नगर्ने, टेन्डर खोल्ने कि नखोल्ने लगायत निर्णय हुने गरेको छ । कामपाअन्तर्गत विभिन्न बजेट शीर्षकबाट खर्च हुने गरी स्वीकृत वार्षिक खरिद योजनाअनुसार खरिद गरिने कार्यको लागि बोलपत्र, प्रक्रियाअनुसार सूचना आह्वान गर्नुपूर्वको तयारीका सम्बन्धमा कागजात समीक्षा गर्ने कार्यादेश दिइएको समितिले कामपाका सबै विभागको काममा हस्तक्षेप गर्ने गरेको छ ।
मेयर साहले विभागीय प्रमुखको अधिकार कटौती गरी समितिलाई सबै अधिकार दिएको कारण समस्या बढेको मात्र छै्रन, समितिको कानुनी अधिकार खोजिएको छ । यसरी हरेक घटनामा अनियमितताको शंका बढेपछि अख्तियारले कामपाले गरेका हरेक कामको सूक्ष्म अनुसन्धान थालेको छ । अनुसन्धानपश्चात् अनियमिततमा संलग्नता देखिएपछि सल्लाहकार लम्साल र कुमार व्यञ्जनकारलाई अख्तियारले बयानमा बोलाएका छ । सबै विभागको काम–कारबाहीमाथि हस्तक्षेप गर्नकै लागि मेयर साहले सल्लाहकारका नाममा बग्रेल्ती नियुक्ति गर्नुभएको छ । सो नियुक्तिको विषयमा समेत आयोगले प्रश्न उठाएको छ । अर्थात् सबै अनियमितताको छानबिन शुरु गरेको छ । महानगरको काम–कारबाहीलाई आफ्नो हातमा लिएर अनियमित काम गर्न पल्केका मेयरका सल्लाहकारमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउनु आवश्यक छ ।











प्रतिक्रिया