काठमाडौं ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध पारिरहेका विपक्षी दलका कारण मुलुकको नीति निर्माण गर्ने थलो बन्धक बन्दा समस्या सिर्जना भएको छ । यसले बजेटको छलफल प्रक्रिया रोकिएको छ । सरकारले पनि संवादमार्फत निकासका लागि गम्भीर पहल गर्न सकेको छैन ।प्रमुख दलहरूबीच आपसी सहमति र संवादको अभावले संसद् निरन्तर निर्णयविहीनताको बन्दी बनेको छ ।
बिहीबारको बैठकसमेत विपक्षी सांसदहरूको नाराबाजीबीच स्थगित भयो । आर्थिक वर्ष २०८२\८३ को बजेट, मुलुकका लागि अत्यावश्यक कानुन निर्माण, र नीति–निर्देशनका प्रक्रिया संसद्को गतिरोधले प्रभावित भएको छ । सरकारको नेतृत्व गरिरहेको सत्ता पक्ष गृहमन्त्री लेखकको राजीनामा दिन नहुने अडानमा छ भने प्रमुख प्रतिपक्षले ‘राजीनामा नभएसम्म संसद्् चल्दैन’ भन्ने जिद्दीबाट पछि हटेको छैन ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक छानबिन अगाडि बढाइसकेको छ । तर, छानबिनको नतिजा सार्वजनिक नहुँदै गृहमन्त्री लेखकलाई नै निशानामा राख्दै प्रतिपक्षीले राजीनामा माग्दै संसद् ठप्प बनाउनु राजनीतिक अराजकता भएको टिप्पणी विश्लेषकहरूले गरिरहेका छन् ।राजनीति विश्लेषक मधुसूदन बराल भन्नुहुन्छ – ‘कुनै पनि मन्त्रीमाथि प्रमाणसहित अनुसन्धान भइरहेको अवस्थामा संसद्लाई बन्धक बनाउनु न संसदीय मर्यादामा पर्छ, न नै लोकतान्त्रिक आचरणमा ।’
बरालको भनाइमा, यदि गृहमन्त्री लेखकको संलग्नता पुष्टि हुने प्रमाण छ भने त्यो सार्वजनिक गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्छ, नत्र संसद् चल्न नदिने प्रवृत्ति त्यागिनु पर्छ ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले भन्नुभयो–‘अनुसन्धान मन्त्रीसम्म पुग्छ भने उहाँले राजीनामा दिनुपर्छ तर अहिले प्रमाण नआउँदै जबरजस्ती राजीनामा माग्नु न्यायोचित होइन । संसद्लाई बन्दी बनाउनु भनेको लोकतान्त्रिक व्यवस्थालाई समस्यामा पार्नु हो ।
राजनीतिशास्त्रका विद्यार्थी अशोक चापागांईले ‘संसद्मा नबोल्ने, संसद् चल्न नदिने अनि तलब भत्ता भने बुझ्ने’ माननीयहरूको चरित्रले नै लोकतन्त्र बदनाम बन्दै गएको बताउनुभयो ।
को–को छन् छानबिनमा ?
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईसहित केही कर्मचारी, केही ट्राभल एजेन्सी सञ्चालकहरू अनुसन्धानको घेरामा छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सयौं नेपालीलाई ‘भिजिट भिसा’मार्फत युरोप र खाडी मुलुक पठाउने गिरोह सक्रिय रहेको अनुसन्धानले देखाएको छ ।











प्रतिक्रिया