नेपालमा वर्षासँगै डेंगी संक्रमणको जोखिम बढ्दो, सतर्कता अपनाउन विज्ञहरूको आग्रह


काठमाडौं। 

 पछिल्ला चार वर्षमा नेपालमा डेंगी सङ्क्रमण तीव्र रूपमा फैलिएको पाइएको छ । यस वर्ष पनि औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानका कारण डेंगी संक्रमणको जोखिम थप बढ्ने भएकोले स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार लगातारको वर्षातले पानी जम्ने स्थानहरूमा डेंगी सार्ने लामखुट्टे विशेष गरी एडिस इजिप्टाई जातको वृद्धि हुने सम्भावना अत्यधिक हुन्छ । यस्ता लामखुट्टेहरू घर वरिपरिका जमेको पानी, फूलदानी, गमला, टायर, प्लास्टिकका बोतल, वा पानीका ट्याङ्कीहरूमा अण्डा पारेर बंशवृद्धि गर्छन् ।

डेंगी एक प्रकारको भाइरसबाट सर्ने रोग हो जुन संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोकेपछि सर्छ । यसरी सङ्क्रमण फैलिने हुँदा लामखुट्टेको नियन्त्रण अत्यावश्यक मानिन्छ । महाशाखाले डेंगी नियन्त्रणका लागि समुदायस्तरमै सचेतना र सरसफाइ अभियान आवश्यक रहेको जनाएको छ ।

डेंगी संक्रमणका सामान्य लक्षणहरूमा एक्कासी उच्च ज्वरो आउनु मुख्य हो । यो ज्वरो सामान्यतः पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोसँगै टाउको दुख्ने, आँखाको गेडी वा पछाडि दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा विमिरा देखापर्ने, र गम्भीर अवस्थामा बेहोस हुने जस्ता लक्षणहरू देखिन सक्छन् । यदि यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न विज्ञहरूको सल्लाह छ ।

डेंगीबाट बच्नका लागि धेरै उपायहरू अपनाउन सकिन्छ । लामखुट्टेको टोकाइबाट बच्नको लागि दिउँसो र राती सुत्दा झुल प्रयोग गर्नुपर्छ । खेतबारी वा बाहिरी काम गर्दा लामो बाहुला भएको लुगा लगाउनुपर्छ । साथै, घरको झ्याल तथा ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

पानी जम्न सक्ने सम्भावित स्थानहरू जस्तै गमला, फुलदानी, टायर, खाली ड्रम, प्लास्टिकका भाँडाहरूमा पानी जम्न नदिने र नियमित सरसफाइ गर्ने उपायहरू पनि महत्त्वपूर्ण छन् । पानीका ट्याङ्कीहरूलाई राम्रोसँग छोपेर राख्नुपर्छ भने फूलदानीको पानी हप्तामा कम्तीमा दुईपटक परिवर्तन गर्न आवश्यक हुन्छ ।

बालबालिकाहरू डेंगीको जोखिममा पर्ने संवेदनशील समूह भएकाले तिनीहरूलाई दिनको समयमा पनि झुलभित्र सुताउने र पुरै शरीर ढाक्ने लुगा लगाइदिने सल्लाह दिइएको छ ।

सरकार र स्थानीय तहहरूले डेंगी नियन्त्रणको प्रयासलाई तीव्र बनाउँदै जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, डेंगी रोकथामको सबैभन्दा प्रभावकारी उपाय व्यक्तिगत र सामूहिक सतर्कता नै हो ।

अतः आगामी दिनहरूमा डेंगीको जोखिमलाई ध्यानमा राख्दै प्रत्येक नागरिकले आफ्नो घर र वरिपरि सफा राख्ने, पानी नजम्ने बनाउने र आवश्यक स्वास्थ्य सावधानी अपनाउने जिम्मेवारी लिनुपर्ने विज्ञहरूको भनाइ छ ।

नेपालमा पहिलो पटक डेंगी चितवनमा सन् २००६ मा देखा पर्यो । सन् २००६ मा ३२ जना, २००७ मा २७ जना, २००८ मा १० जना, २००९ मा ३० जना, २०१० मा ९१७ जना, २०११ मा ७९ जना, २०१२ मा १८३ जना, २०१३ मा ६४२ जना, २०१४ मा ३५६ जना, २०१५ मा १३४ जना, २०१६ मा १५२७ जना, २०१७ मा २१११ जना र २०१८ मा ८११ जना रहेका छन् । 

काठमाडौँमा सन् २०२५ मा जनवरी देखि हाल सम्म ११९मा डेंगी सक्रमण पुष्टि भएकोछ । २०२२ मा काठमाडौँमा डेंगीको प्रकोप निकै उच्च रहेको थियो । काठमाडौं देशकै टप टेन मा परेको थियो । 

काठमाडौँमा सन् २०२४ मा ५९१९ जनामा काठमाडौँमा सन् २०२३ मा जनवरी १ देखि अक्टुबर २९ सम्म देशैभरिको तथ्यांक हेर्दा जम्मा २,६७,६८० जना प्रभावित भएका थिए ।

काठमाडौँमा सन् २०२१ मा काठमाडौँमा कोभिडको महामारी बढ्यो डेंगी प्रभावितको संख्या जम्मा ५२ जना रहेका थिए । यसले पनि सरसफाइमा ध्यान दिने र सबै मानिसले सुरक्षा अपनाउने हो भने डेंगीको प्रभाव घटाउन सकिन्छ भन्ने प्रमाणित हुन्छ ।