नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा बृहत् स्वास्थ्य शिविर 


काठमाडौं। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताएका छन्।

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा प्रेस युनियन काठमाडौं शाखा द्वारा आयोजित बृहत् स्वास्थ्य शिविरमा उनले नमुना परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न लागिपरेको बताएका हुन्।

मन्त्री पौडेलले भने ‘केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो। हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ। बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ। उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ।’

स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका भन्दै उनले बिग्रिएका उपकरण राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताए।

स्वास्थ्य शिविरमा ४ सय २५ जना लाभान्वित

यसै अवसरमा आयोजित स्वास्थ्य शिविरमा पत्रकार तथा समुदायका ४ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएको प्रेस युनियन काठमाडौंका अध्यक्ष महेश गौतमले जानकारी दिए।

शिविरमा वीर अस्पताल, तिलगंगा आँखा अस्पताल, भक्तपुर क्यान्सर अस्पातालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्थ जाँच गरिएको थियो भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रगत र युरिनको जाँच गरिएको थियो। त्यसैगरी चिरायु डेन्ट केयरको तर्फबाट दन्त परीक्षण गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य पदम परियार, नेपाल पत्रकार महासंघका महासचिव राद प्रसाद दाहाल, प्रेस युनियनका केन्द्रिय उपध्यक्ष तथा पदाधिकारी सहित बिभिन्न मिडियामा कार्यरत पत्रकार लगायतको बाक्लो उपस्थिति थियो।