आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान


काठमाडौं ।

आज सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालको ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। यसअघि गएको आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भएको थियो।

चालू वर्षमा नेपाली अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यसमा गण्डकी प्रदेश सबैभन्दा उच्च ५.५१ प्रतिशत वृद्धिदरसहित अगाडि रहँदा सुदूरपश्चिम प्रदेश सबैभन्दा न्यून ३.३२ प्रतिशत वृद्धिदरसहित पछाडि देखिएको छ।

उत्पादन क्षेत्रतर्फ कृषि क्षेत्रको वृद्धि ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धि ४.०८ प्रतिशत रहने अनुमान गरिएको छ। विगत वर्ष कृषि क्षेत्र २.०२ प्रतिशत र गैरकृषि क्षेत्र १.९९ प्रतिशतले मात्र बढेको थियो।

कुल गार्हस्थ उत्पादन (GDP) मा सेवा क्षेत्रको योगदान ५८.०१ प्रतिशत, कृषि क्षेत्रको २५.१६ प्रतिशत र उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत रहने अनुमान गरिएको छ।

चालू वर्षको कुल उपभोग ९३.७८ प्रतिशत रहने छ भने कुल बचत ६.५५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
सार्वजनिक तथा निजी क्षेत्र मिलाएर कुल स्थायी लगानी ५.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ७० अर्ब १२ करोड रुपैयाँ पुग्नेछ। त्यसमा निजी क्षेत्रको हिस्सा ६०.९ प्रतिशत र सार्वजनिक क्षेत्रको हिस्सा ३९.१ प्रतिशत रहेको छ।

नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी ५.८ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ४ सय २४ रुपैयाँ र अमेरिकी डलरमा १,५१७ डलर पुग्ने अनुमान गरिएको छ।
मूल्यवृद्धि (मुद्रास्फीति) औसत ४.७२ प्रतिशत रहनेछ। अघिल्लो वर्ष यो दर ६.०८ प्रतिशत थियो।

राजस्व संकलन चालू आर्थिक वर्षको पहिलो नौ महिनामा १०.४ प्रतिशतले वृद्धि भई ११ खर्ब ५० अर्ब ९९ करोड पुगेको छ। संघीय सरकारको कुल खर्च १६ खर्ब ४० अर्ब ६८ करोड रहेको छ, जसमा संघीय सरकारको हिस्सा ६४.२ प्रतिशत, प्रदेशको ९.९ प्रतिशत र स्थानीय सरकारको २५.९ प्रतिशत रहेको छ।
संघीय सरकारको बजेट घाटा १६ अर्ब १९ करोड रुपैयाँमा झरेको छ भने सार्वजनिक ऋण परिचालन ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। चालू खर्च ५६.१ प्रतिशत, पुँजीगत खर्च २७.३ प्रतिशत र वित्तीय व्यवस्थापनसम्बन्धी खर्च १६.६ प्रतिशत रहेको छ।

सार्वजनिक ऋणको आकार कुल गार्हस्थ उत्पादनको ४२.६४ प्रतिशत पुगेको छ। चालू वर्षमा आन्तरिक ऋण १३ खर्ब १६ अर्ब ६ करोड र बाह्य ऋण १३ खर्ब ६० अर्ब ४६ करोडसहित कुल सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ।

वैदेशिक व्यापारमा कुल निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ भने आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ। व्यापार घाटा भने ६.२ प्रतिशतले बढेर ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संख्या २०८१ फागुनसम्म ३ लाख १७ हजार ६३ पुगेको छ। विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ।

पर्यटन क्षेत्रमा पनि सुधार देखिएको छ। सन् २०२४ अगस्टदेखि सन् २०२५ मार्चसम्म नेपालमा ७ लाख ९८ हजार ५१० विदेशी पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले बढी हो।

अन्तरराष्ट्रिय तथा आन्तरिक आर्थिक परिदृश्यले प्रभावित पारेको भए पनि नेपालले आर्थिक पुनरुत्थानको संकेत देखाइरहेको छ। तथापि, स्थायीत्व र दिगो वृद्धिका लागि संरचनागत सुधार र वित्तीय अनुशासन कायम राख्नुपर्ने चुनौती कायमै छ।