करोडौं चलखेल गर्न कवाडी व्यवसायी हटाउँदै

50.01k
Shares

–मेयरका सचिवालय सदस्य लम्साल मुख्य योजनाकार

–६ सेक्टरमा टेन्डर करोडौं चलखेल हुने आशंका

–कर्मचारी आतंकित, प्रमुख प्रशासकीय अधिकृतलाई दबाब

काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयरका सल्लाहकारले राजधानीको फोहोर व्यवस्थापनको नाममा करोडौं रुपियाँको चलखेल शुरु गरेका छन् । कवाडी व्यवसायलाई विस्थापित गरी फोहोर संकलन गर्ने व्यवसायलाई पोसेर घरघुरीबाट संकलित फोहोरबापत रुपियाँको चलखेल शुरु गरेको हो । कामपा वातावरण विभागको सबै काम हस्तक्षेप गर्र्ने सल्लाहकार सुनील लम्सालले फोहोर संकलनमा सेटिङ गर्न शुरु गरेका छन् ।

उच्चस्रोतका अनुसार लम्सालले कामपाका वातावरण व्यवस्थापन विभागका उच्चतहका कर्मचारीलाई ६ सेक्टरमा विभाजित गरेको टेन्डर तत्काल स्वीकृत गर्न दवाब दिने गरेका छन् । ‘६ वटा सेक्टर छन् । सबै सेक्टरले फोहोर संकलन गरेबापत वार्षिक शुल्क तिर्नुपर्छ । टेन्टर सार्वजनिक गर्दै आफू निकटका ठेकेदारसँग साँठगाँठ गरी शुरुमै बार्गेनिङ गरिरहेका छन्’ –उच्चस्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

विभागैपिच्छे सल्लाहकार राखेर आतंक सिर्जना गरेका मेयर साहले हरेक विभागीय प्रमुखको काम सल्लाहकारबाटै अवलोकन गरी स्वीकृत गर्न लगाउँछन् । मेयरका अवैतनिक सल्लाहकार लम्सालले वातावरण व्यवस्थापन विभागको सबै काम मिलाउने मुख्य व्यक्ति हुन् । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न निर्णयमा हस्ताक्षर गर्न दबाब दिने गरेका उनले वातावरण व्यवस्थापन विभागका सबै काममा हस्तक्षेप गरेर निर्णय गर्ने गरेका छन् ।
आफूले हस्ताक्षर नगरी कर्मचारीलाई दबाब दिन थालेका सल्लाहकार लम्सालको नियुक्तिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । फोहोर व्यवस्थापनको नामममा लम्सालले गरेका आदेशको कर्मचारीले अटेर गर्न थालेका छन् ।

‘पछिल्लो समय कामपा प्रहरी प्रमुख राजु पाण्डेलाई प्रयोग गरी सबै कवाडी व्यवसाय हटाउने र फोहोर संकलन गर्ने कम्पनीलाई कवाडी संकलन र र बिक्री गर्न दिने निर्णय गर्दे विभिन्न चरणको टेन्डर खोलेको हो’ –स्रोतले भन्यो ।

कामपाभित्र करिब ३ लाख संख्याको घरधुरीको फोहोर र कवाडी संकलन गरी करोडौं चलखेल गर्नु रहेको छ । वर्षभरिमा एउटा घरबाट पुराना पत्रपत्रिका तथा कागज निस्कन्छ होला, खाली सिसी, वियरका बोतल, फलामका टुक्रा र प्लास्टिकका बिग्रेका सामानहरु पनि निस्कन्छ होला ?

माथि उल्लेखित कवाडी समानहरु वर्षभरिमा अन्दाजी ५ हजारको बेच्नुहुन्छ ? वा अर्को घरले १० हजारको बेच्ला त्यस्तै अर्कोले २० हजारको बेच्ला कसैकसैले २५ हजारको बेच्ला यस हिसाबले औसतमा एक घरधुरीबाट १० हजारको कवाडी उत्पादन हुँदा ३ लाख घरधुरी बराबर ३ अर्ब रुपियाँ बराबरको कवाडी मालसामान वार्षिक रुपमा महानगरपालिका क्षेत्रमा उत्पादन हुन्छ ।

यस सम्बन्धमा महानगपालिकाले कुनै अनुसन्धान तथा सर्वे गरेको दस्तावेज उपलब्ध गराउँदैन । त्यस्तो उत्पादन औसतमा २० हजारको भए त्यो रकम वार्षिक ६ अर्ब बराबरको कवाडी माल उत्पादन हुन्छ । त्यसलाई मिलाउन नेपवेष्ट कम्पनीलाई नदिई कमाउ धन्दामा लागेको एक कर्मचारीको आरोप छ ।

कवाडी सामानहरु घरघरबाट निस्कन्छ, त्यो अहिले तपाईंले साइकलवाला कवाडीलाई बेच्नुहुन्छ । त्यस्ता कवाडीले घरबाट नै कवाडी सामानहरु उठाउँछन् र कवाडी संकलन केन्द्रमा लगेर बेच्छन् र कवाडी संकलन केन्द्रहरुले समूह छुट्याई नियमानुसारको कर पालिकाहरुलाई बुझाई निकासी गर्दछन् ।

महानगरपालिकाभित्रका कवाडी संकलन केन्द्रहरुमा बालेनको आदेशले डोजर लगाउने त्यस्तै कवाडी संकलक साइकलवालाहरुलाई लछारपछार गरी साइकल लुट्ने गरेका छन् । पछिल्लो यो अभ्यासबाट पूर्णरुपमा कवाडी निषेध गर्ने र महानगबासीको घरबाट सडकमा फोहोरका रुपमा कवाडी सामान निकाल्न बाध्य पार्ने योजना महानगरको छ । कवाडी माल सडकमा फोहोरका रुपमा निकाल्न बाध्य पार्नुमा बालेनको फोहोर व्यवस्थापन मोडललाई बुझ्न पर्ने हुन्छ । यसरी करोडौं रुपियाँ उठाउने योजनामा मेयरको सचिवालय रहेको कर्मचारीको भनाइ छ ।

२०६६ सालमा फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्न काठमाडौं उपत्यका एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको परिकल्पना गरेको थियो । काठमाडौं महानगरपालिकार कीर्तिपुर नगरपालिकाबाहेकका काठमाडौं जिल्लाका अन्य स्थानीय निकायलाई समेटी परियोजना विकास भएको थियो ।

केही प्राविधिक र केही व्यवस्थापकीय विषयहरुलाई समेट्दै केन्द्रले परियोजना प्रस्ताव तयार गरी सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण, सञ्चालन र हस्तान्तरण विधि अनुरुप कार्य गर्ने गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने गरी तीनवटै प्याकेज आह्वान गरेको थियो । त्यसमध्ये कामपाको फोहोर व्यवस्थापन विषय प्याकेज १ मा समेटिएको थियो । तर प्याकेजमा समेटेर टेन्डर पाएको कम्पनीलाई काम गर्न नदिएर मनोमानीरुपमा कामपाले चलखेल शुरु गरेको अन्य स्थानीय तहको आरोप छ ।