मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ सरकारी धाराबाट बिहिबार दिउँसो मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा मकवानपुरको बसामाडी घर भएका २८ वर्षीय सरोज लामा र सिन्धुलीको मरिण गाउँपालिका ८ घर भएका १९ वर्षीय क्षितिज रनपहेली रहेका छन् । उनीहरुले बा ९१ प ९८ ६५ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाईकलको वास्तबिक नम्बर बाग्मती प्रदेश ०२-०४१ प ८६ ०० भएको खुल्न आएको थियो ।

उक्त मोटरसाइकल काठमाण्डौको कपन घर भएका डालीकृष्ण पौडेलले गत बैशाख २५ गते काठमाडौँको चुच्चेपाटीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा उनीहरुले बा ६० प ७१५४ नम्बरको स्कुटर चोरी गरी काठमाण्डौकै गोकर्णेश्वर नगरपालिका २ नाम्गेलमा लुकाई राखेको खुलेपछी प्रहरीले उक्त स्कुटर समेत बरामद गरेको छ ।

मोटरसाईकल सहित नियन्त्रणमा आएका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।