राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे र चीनको सिपिपिसिसिका उपाध्यक्ष शेङ युयुबीच  भेटवार्ता 


सियान। 

राष्ट्रिय सभाका  उपाध्यक्ष विमला घिमिरे र जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन(सिपिपिसिसि) का उपाध्यक्ष शेङ युयुबीच  भेटवार्ता भएको छ । 

चीनको औपचारिक भ्रमणमा रहेभएकी उपाध्यक्ष घिमिरे र उनका समकक्षी चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष शेङ युयुवीच  सियान शहरमा भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताउँदै नेपालको भूमिमा चीनको हित बिरुद्ध कुनै गतिबिधी हुन दिदैनौ भनिन्  । ‘नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ।’, उनले भनिन्  ‘ह‘म्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहो¥याउन चाहन्छौँ।’

उनले नेपालको  सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै भेटले नेपाल–चीन सम्बन्धका बारेमा जानकारी आदानप्रदानका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन र पारस्परिक हितका लागि सहयोग गर्ने विषयमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताइन्  । 

 कृषि, जलविद्युत र पूर्वाधार विकास, रेल तथा सडक सञ्जाल, निर्यात प्रवर्द्धन, औद्योगिक उत्पादन, विदेशी लगानी र पर्यटनका  क्षेत्रहरू नेपालको प्रमुख विकास प्राथमिकता रहेको बताउँदै चीनियाँ लगानीकर्ताहरुलाई नेपालको कृषि, पर्यटन, पूर्वाधार औधोगिक क्षेत्रमा लगानीका लागि उपाध्यक्ष घिमिरेले आग्रह गरिन् ।

 उनले नेपालको प्रमुख पर्यटकीय शहर पोखरामा चीनको सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न शहरबाट सोझो हवाई उडान सञ्चालन गर्न सकेमा त्यसले नेपालको पर्यटन र आर्थिक विकासमा ठुलो सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन् । उनले  आगामी दिनमा संसदीय प्रतिनिधीमण्डलका  द्विपक्षीय भ्रमण बढाउने, नेपालका संघीय संसदमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि र भौतिक स्रोतसाधनले सुबिधा सम्पन्न बनाउन पनि चीनको सहयोगको अपेक्षा गरेको बताइन् । 

भेटका क्रममा चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष शेङ युयुले चीनले नेपालमा राजनैतिक स्थिरताको पक्षमा रहेको बताउँदै नेपालमा दैवीप्रकोपमा भैरहेको सहयोग, पूर्वाधार निर्माण र पर्यटन तथा कृषि क्षेत्रको आधुनिकीकरणमा सघाउन कुनै कन्सुस्याँई नहुने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालको संघीय संसद र चीनको जनराजनैतिक परामर्शदात्री सम्मेलनका बिचमा संसदीय अनुभव आदनप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।