काठमाडौं ।
भोलीबाट हनुमानढोका स्थित नौ तले वसन्तपुर दरबार अवलोकन गर्न पाइने भएको छ । चीन सरकारको सहयोगमा पुनः निर्माण सकिएलगत्तै भोलीबाट खुला हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको गतवर्ष मंसिर १७ देखि २० सम्म बेजिङ भ्रमणको क्रममा डिसेम्बर ३ तारिखमा वसन्तपुर दरबार पुनः निर्माण पछि हस्तान्तरण भएको थियो । आठवर्ष अघि सो दरबारको पुनर्निर्माण सुरु भएको थियो ।

चाइनाको सबै परियोजना टर्न कि हुन्छ । अर्थात चीन सरकार आफैले पुनर्निर्माण सम्पन्न गरेपछि साचो हस्तान्तरण हुने गरेको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेलले पुनः निर्माणपछि मंगलबार खुला गरिएको वसन्तपुर आजबाट सर्वसाधारणको लागि खुला गर्ने जानकारी दिए ।

उनले भने–नौ तले दरबार खुला गरेका छौ, करिब एकवर्षपछि वसन्तपुर दरबारसंगै रहेका महेन्द्र, वीरेन्द्र लगायत विभिन्न समयमा संग्रहित पुरातात्त्विक वास्तुकला सहित संग्रहित हुदैछ । पुनः निर्माण सकिएको दरबारको भोलीबाट औपचारिक रुपमा खुला हुँदैछ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्रीप्रसाद पाण्डेले ८ वर्षपछि पुनः निर्माण सम्पन्न भएको नौतले दरबार सर्वसाधारणको लागि खुला भएको जानकारी दिए । विश्व संग्रहाल दिवसको अन्तिम दिन आज आयोजित कार्यक्रममा वसन्तपुर दरबार खुला गरिएको थियो ।

नौतले दरबार खुला गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले लिच्छबी कालदेखिको दरबार जस्ताको त्यस्तैदेख्न पाएकोमा खुसी व्यक्त गरे । भने–जुन बखतमा जस्तो थियो, सिद्धहस्त हातले प्रस्तुत गरेर दरबार सम्पदा जोगाएका छन् । उनले २३ सय वर्ष पुरानो इतिहास बोकेको हनुमानढोका दरबारले विश्वको ध्यान खिचेको बताए । कार्यक्रममा सांसद सपना राजभण्डारीले वसन्तपुर दरबार खुला गरेर जिवीत संस्कृति उजागर गरेको बताए । उनले अब काष्ठमण्डप खुला गर्नुपर्ने धारणा राखिन्।
मन्त्री ज्यु तपाईसंग एउटा अनुरोध गर्न चाहन्छु , त्यो के भने बिहान उठ्नेबित्तिकै स्थानीयले अशोक विनायक दर्शन गर्छन्, त्यसपछि काष्ठमण्डपमा रहेको गोरखनाथ । भूकम्पपछि काष्ठमण्डप बन्यो खुलेन । हामीले कहिले गोरखनाथको दर्शन गर्न पाउने ? त्यसैले म भन्छु काष्ठमण्डप खुला गर्नुप¥यो । हामीले गोरखनाथ दर्शनगर्न पाउनुप¥यो ।

कार्यक्रमममा पुरातत्त्व विभागमा योजना महाशाखा प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले चीन सरकारको ९५ मिलियन आरएमबी लागतमा निर्माण भएको शसन्तपुर दरबार सर्बराधारणको लागि खुला भएको जानकारी दिए । उनले अबको केही वर्षभित्र हनुमानढोका दरबार सङ्ग्रहालय परिसरका सबै सम्पदा पुनर्निर्माण भइसक्ने जानकारी दिए । पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङगले चीन सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएको वसन्तपुर दरबार सर्वसाधारणको लागि खुला भएको जानकारी गराउँदै निकट भविष्यमा यहाँभित्रका सबै सङ्ग्रहालय खुला गर्ने तयारी भएको बताइन् । उनले पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्न चीन सरकारले गरेको सहयोगको प्रसंसा गरिन् ।
संग्रहालयले विश्वसम्पदा सुचीमा सुचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षक सो दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइसकेको छ । उक्त दरबारलाई नौतले दरबारको नामले समेत चिनिन्छ । दरबार खुलेपनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र सङ्ग्रहालय केही समयपछि मात्र खुला हुनेछ । ‘अहिले नौतले दरबारमा चढ्न पाउनेमा व्यवस्था गरेका छौ , केही महिनापछि गहना , मल्लकालीनसहित पुर्ण रुपमा संग्रहालयको सामाग्री प्रदर्शनमा राखेर खुला गर्नेछौ–कार्यकारी निर्देशक प्याकुरेलले भने ।
सङ्ग्रहालय विकास समितिले सो दरबारको तल्लोतलामा भुकम्प अघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाबारेमा तयार पारिएको डकुमेन्ट्री, नौतले दरबारलाई परिचय दिने सामाग्री राखिनेछ ।
दोस्रोमा वीरेन्द्र सङ्ग्रहालय र तेस्रोमा महेन्द्र सङ्ग्रहालय रहनेछ । दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबारक्षेत्र परिसरका काम नलाग्ने टुडाल , इट्टा लगायतका पुरातात्त्विक वस्तु प्रदर्शनीमा राखिने छ ।

चीन सरकारको एजेन्सी फर इन्टरनेशनल इकोनोमिक कोअपरेशनको आर्थिक र प्राबिधिक सहयोगमा बिसं २०७४ सालबाट सम्झौता गरी निर्माणशुरु भएको थियो । विद्युतीय, सोकेस लगायत सौन्दर्यीकरणको काम गर्नुपरेपछि सहयोग थपिएको छ । सम्झौतामा दरबार परिसरको ५ हजार ६ सय वर्गमिटर क्षेत्रको संरक्षण गर्न सम्झौता भएको थियो । तर पछि काम थप गर्न आग्रह गरेको कारण सम्झौता अनुसार केही रकम थपिएको हो ।
चीन र नेपाल सरकारबीच ३१ डिसेम्बर सन् २०१६ मा सम्झौता भएको थियो । २०७२ बैशाख १२ गते गएको भुकम्पले नौतले दरबारसंगै रहेको कीर्तिपुर, भक्तपुर र काठमाडौ टावर ध्यस्त भएको थियो । ती सबै सम्पदाको पुनः निर्माणको जिम्मा चीन सरकारले लिएको थियो । सङ्ग्रहालयभित्र डिस्प्ले, विद्युतीकरणदेखि लाइटिङ, सिसिटिभी लगायत उच्च प्रविधि जडान गरिदिएको हो ।











प्रतिक्रिया