सुर्खेत।
खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य र सङ्कल्प साकार हुँदै गएको बताएका छन् ।
आज सुर्खेत शिवशक्ती धाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका वडा नं. १, २ र ३ मा रहेको सालकोट बृहत खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको उल्लेख गरे ।
उनले भने, “यो आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ र पर्याप्त पानीको सहज पहुँच हुने छ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ ।”
यसैगरी उनले नेपाली नागरिकका आधारभूत आवश्यकतालाई पुरागर्ने सरकारको उद्देश्य र सङ्कल्प साकार हुँदै गएको बताउँदै खानेपानीको समस्याका कारण आजित भएका नागरिकहरुलाई सुरक्षित खानेपानी वितरणसहित उनीहरुका समस्या समाधान हुँदै गएका जानकारी गराए ।
“नागरिकका समस्या समाधान गर्न सरकारले खानेपानीका आयोजनालाई प्राथमिकता दिई काम सम्पन्न गर्दै आएका छन्,” उनले भने, “खानेपानीमा देखिएका समस्या समाधान गर्न म सहितको हाम्रो टोली हिमाल, पहाड, तराइँका जिल्लाका विकट एवं ग्रामिण बस्तिहरुमा धाइरहेको छु ।”
जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानीजस्तो सेवा जनताको पहुँचमा पुर्याउनु आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री यादवले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठले जलवायु परिवर्तन लगायतका कारणले नागरिकले सुख्खा समयमा पानीको समस्या र वर्षायाममा पानीबाट हुने समस्या भोगिरहेको बताउनु हुँदै ती समस्या सामाधानको लागि खानेपानी विभागले अग्रसरताका साथ काम गरिरहेको बताए ।
उनले भने, “यस पञ्चपुरी सालकोट बृहत खानेपानी योजनाले पञ्चपुरीवासीको आगामी ३० वर्ष सम्मको खानेपानीको समस्या सामाधान गर्नेछ । संघीय खानेपानी कार्यालय, प्रदेश कार्यालय, स्थानीय तह सबैको संयुक्त पहलमा यस योजनाको दिगो सञ्चालन हुने मैले विश्वास लिएको छु ।”
सालकोट बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम निउरले सरकारले आयोजनालाई प्राथमिकता दिई समयमा सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा यस्तो सेवा अन्य वडामा पनि विस्तार गर्न माग गरे ।
आज उद्घाटन गरिएको सालकोट बृहत खानेपानी आयोजनाबाट पञ्चपुरी नगरपालिका वडानं १, २, ३ का करिब दुई हजार ७७१ घरधुरीका कम्तिमा पनि १५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका निमित्त प्रमुख मनिषकुमार राजले जानकारी दिए ।
उक्त आयोजनाको स्वीकृत लागत २५ करोड ९१ लाख ८५ हजार ६६५ रहेको र ठेक्का स्वीकृत रकम भ्याटसहित कुल दश करोड ३० लाख ७३ हजार ०७३ रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतले जनाएको छ ।
आजको उक्त कार्यक्रममा संघीय सांसद हृदयराम थानी, पूर्वसांसद नवराज रावत, कर्णाली प्रदेशका सांसद विन्दमान विष्ट, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव श्री मीना श्रेष्ठ, जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारी, पञ्चपुरी नगरपालिकाका उप प्रमुख मुक्तिदेवी रेग्मी पुरी, प्रमुख जिज्ला अधिकारी जगदीश्वर उपाध्याय लगायत स्थानीयवासी एवं जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











प्रतिक्रिया