महालक्ष्मी विकास बैंकको क्रेडिट कार्डमा मासिक किस्ता सुविधा


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले क्रेडिट कार्डबाहकलाई मासिक किस्तामा भुक्तानी गर्ने सुविधा उपलब्ध गराएको छ ।

‘बाई ह्वाट यु लभ, पे हाउ यु लाइक’ नामक योजनाअन्तर्गत ग्राहकहरूले बैंकको क्रेडिट कार्डमार्फत खरिद गरेको सेवा वा वस्तुको मूल्यलाई ३ देखि १२ महिनासम्मको लचिलो अवधि तय गरी किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका अनुसार नेपाल, भारत र भुटानका जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरूबाट वस्तु वा सेवा खरिद गर्दा ग्राहकहरूले खरिद गरेको बिल पेस गरेपछि बैंकले सहज रूपमा उक्त कारोबारलाई मासिक किस्तामा रूपान्तरण गरिदिनेछ । यो सुविधा निःशुल्क उपलब्ध गराइएको बैंकले जनाएको छ ।

यसबाहेक, ग्राहकहरूलाई डिजिटल बैंकिङ सुविधालाई थप सुरक्षित र प्रभावकारी बनाउन बैंकले हालै ‘महालक्ष्मी स्मार्ट साथी’ नामक मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यस एप्लिकेसनमार्फत ग्राहकहरूले अत्याधुनिक डिजिटल बैंकिङ सेवाहरूमा सजिलै पहुँच पाउन सक्नेछन् ।