पोखरामा सवारी दुर्घटना, तीनको मृत्यु, २९ घाइते

9.49k
Shares

पोखरा ।

पोखरामा बुधबार दिउँसो छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको विद्युतीय यात्रुबाहक माईक्रोबस पोखरा– ३२ लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको उक्त माइक्रोबस दिउँसो साढे तीनबजे दुर्घटनामा परेको हो । दुर्घटनास्थल पोखरा र तनहुँ जिल्लाको सिमाना नजिकै पर्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार माइक्रोबस लामेआहाल सडक खण्डबाट तल खेतमा खसेको थियो । दुर्घटनामा घाइतेमध्ये ३ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

उनीहरूको उपचारको क्रममा तीन निधन भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा २५ हेमजाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङ निवासी ४५ वर्षीया तिलकुमारी आचार्य र धादिङ निवासी १५ वर्षीय आगमन गुरुङ रहेका छन् । अन्य ७ जनाको भने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच बुधबार दिउँसो नै पोखरा–२२ स्थित विश्वशान्ति स्तुपबाट फर्किदै गरेको ग १ ख ३८८६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो । २६ जना सवार बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । दुर्घटनामा परेकाहरूमा अधिकांश भारतीय पर्यटक रहेको र उनीहरू अधिकांश ५५ वर्षमाथिका रहेका प्रहरीले जनाएको छ ।