भारत–पाकिस्तानबीच युद्ध चर्किंदै गएपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक


काठमाडौं ।

भारत–पाकिस्तानबीच युद्ध चर्किंदै गएपछि नेपालले आफ्नो सुरक्षा रणनीति स्पष्ट गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक सम्पन्न गरेको छ । बैठकमा क्षेत्रीय अस्थिरताको सन्दर्भमा नेपालको कूटनीतिक, सुरक्षा र मानवीय तयारीबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देलसहित सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । यसअघि बिहानै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि परिषद्को बैठक बोलाइएको हो ।

के के छलफल भए?

भारत–पाकिस्तान युद्धको तत्कालीन अवस्था मूल्यांकनः पहलगाम आक्रमणदेखि हालसम्मको सैन्य गतिविधि र क्षेत्रीय अस्थिरताको असरबारे बैठकमा गम्भीर समीक्षा भएको बैठकमा सहभागी एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा निगरानी बढाउने, आपतकालीन योजनाहरू अद्यावधिक गर्ने र सम्भावित शरणार्थी बहावको सामना गर्न गृह मन्त्रालय, सशस्त्र प्रहरी र स्थानीय प्रशासनलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

नेपालले ऐतिहासिक तटस्थताको नीतिअनुसार कुनै पक्ष नलिई संयमता र संवादको मार्गलाई समर्थन गर्ने नीति अवलम्बन गर्ने निष्कर्ष बैठकले निकालेको छ ।
सरकारले युद्धसम्बन्धी सूचना प्रचारप्रसारमा संवेदनशीलता अपनाउने र अफवाह तथा दुष्प्रचार रोक्न सञ्चारमाध्यमलाई संयमित रिपोर्टिङको आग्रह गर्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार नेपालले केही दिनभित्रै शान्तिपूर्ण संवाद र संयमतर्फ उन्मुख हुन दुवै पक्षलाई आह्वान गर्ने औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ । साथै, यथास्थितिमा गम्भीर परिवर्तन भएमा राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी मानवीय र सुरक्षा उपायहरू विस्तार गर्ने रणनीति सरकारले लिएको छ ।

नेपाल भारत र पाकिस्तान दुबैसँग भू–राजनीतिक, व्यापारिक, र सामाजिक सम्बन्ध भएका देश हो । भारतसँग खुला सिमा रहेकोले युद्धको असर सिधै नेपालमा पर्न सक्ने खतरा बढेको छ । सम्भावित शरणार्थी बहाव, आपूर्ति लाइनमा अवरोध, र सुरक्षामा जोखिमको आँकलन सरकारले गरेको छ ।