नेपाल समाचारपत्रका सम्पादक पण्डितलाई राष्ट्रिय पत्रकारिता पुरस्कार 

पत्रकार असुरक्षित हुने वातावरण सदाका लागि अन्त हुनुपर्छ : राष्ट्रपति पौडेल


काठमाडौँ। 

सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट  नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितलाई पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पण्डितलाई निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हीतको प्रवर्धन गर्दै जनतालाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै सो पुरस्कारबाट पुरस्कृत गरेको हो ।

 विगत साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आइरहेका सम्पादक पण्डितले मुलुकमा सुशासन प्रवर्धन गर्न, राजनीतिक विकृति रोक्न तथा भ्रष्टाचार विरुद्धमा जागरण ल्याउन निरन्तर रुपमा  विभिन्न खाले लेखरचना र समाचारहरु संप्रेषण गर्दै आइरहेका छन् । सम्पादक पण्डितले प्रशासन सुधार, राजनीतिक सुधार, वन तथा वातावरण क्षेत्रका समस्या समाधान  तथा ग्रामीण विकास र सामाजिक चेतनाका सबालमा समेत कलम चलाउदै आइरहेका छन् । पण्डितलाई बुधबार सितलनिवासमा आयोजित एक  कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पत्रकारिता  पुरस्कार २०८१  प्रदान गरेका हुन्  । पुरस्कारको राशी नगद १ लाख र कदरपत्र रहेको छ । 

 कार्यक्रममा वरिष्ठ पत्रकार सम्मान बाट पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोेखरेल र प्रेस चौतारी नेपालमा पूर्व अध्यक्ष गणेश बस्नेतलाई पुरस्कृत गरिएको थियो । यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेमा सम्पादक पण्डित लगायत पत्रकारहरु विमल गौतम, लोग्शरी कुँवर, दिपेन्द्र श्रेष्ठ, दिपेन्द्र वान्तवा, डिल्लीराम खतिवडा समेत रहेका छन् । उनीहरु सबैलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरेका थिए । 

 पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको उल्लेख्य भुमिका रहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा पनि सञ्चार क्षेत्रले महत्वपुर्ण योगदान दिनुपर्ने आवश्यकता औँल्याए  । राष्ट्रपति पौडेलले मुलुकमा पछिल्ला दिनमा पत्रकारहरु असुरक्षित हुने अवस्था बढिरहेकाले त्यस्तो वातावरण सदाका लागि अन्त हुनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुृरुङले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि विभिन्न नयाँ कानुनी व्यवस्थाहरु ल्याउन  लागिएको जानकारी दिदै सञ्चार क्षेत्र संयमित र राष्ट्रसेवा प्रति जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए  । मन्त्री गुरुङले सञ्चार क्षेत्रले भोग्नुपरेका तमामखाले समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताए । 

यसैगरी सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले सञ्चार क्षेत्रले भोग्नुपरेका चुनौतीहरुको विश्लेषण गरी समाधानको प्रयास थालिएको बताइन्  ।

 कार्यक्रममा बोल्दै पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताको विकासका क्रममा सामाजिक सञ्जालका कारण सिङ्गो पत्रकारिता क्षेत्रले संकट व्यहोर्नुपरेकाले सामाजिक सञ्जालको नियमन र व्यवस्थापन अपरिहार्य भएको बताइन् । पुरस्कृत हुने व्यक्तिको तर्फबाट बोल्दै पत्रकार महासंघका पुर्व अध्यक्ष विपुल पोखरेले प्रेस लोकतन्त्रको आधार भएकाले प्रेसलाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।