काठमाडौँ।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा खोजी पत्रकारिताको अभाव रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघको आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा आज काठमाडौँमा गरिएको विश्वसनीय पत्रकारीताका लागि सूचनाको हकको प्रयोग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउने र ध्यान केन्द्रित गराउने खालका खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए ।
उनले आम संचार विधेयकमाथि सम्पूर्ण सरोकारवालासँग छलफल गरेर विधेयक ल्याउने हुँदा महत्त्वपूर्ण सुझाव दिन अनुरोध गरे ।
पत्रकारिताको गुणस्तरीयता महत्त्वपूर्ण रहने हुँदा पत्रकारलाई प्रशिक्षण दिन तालिम केन्द्र तत्काल आवश्यक रहेको पनि मन्त्री गुरुङले बताए । उनले भने,
“हामीलाई गुणस्तर पत्रकारिताको खाँचो छ । त्यसका लागी तालिम केन्द्र आवश्यक छ ।”
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारको काममा पारदर्शिता जरुरी रहेको र सूचनाको हकले सरकारलाई जनताप्रति थप जबाफदेही बनाउने धारणा राखे ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश प्रसाद आर्चायले सूचनाको हक प्रत्येक नागरिकले पाउनु पर्ने भएपनि पत्रकारले यस हकलाई अझै नागरिक मुखी बनाउन सक्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सूचनाको हक पर्यावाची जस्तै भएको बताइन् । उनले सञ्चार मन्त्रीलाई पत्रकार महासङ्घसँग सहकार्य गरेर नीति तथा सञ्चार योजना बनाउन अनुरोध गरिन् ।











प्रतिक्रिया